
पोखरा । पर्यटन राजधानीको पहिचान बनाएको पोखराका प्रमुख २४ वटा पर्यटकीय गन्तव्य अब प्रविधिमैत्री बनेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले गन्तव्यस्थलमै ‘क्युआर कोड’ स्क्यान गरेर ती स्थानको इतिहास, महत्व र विशेषता पढ्न र सुन्न सक्ने व्यवस्था सुरु गरिएको छ ।
पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग तथा साराङ डिजिटलको प्राविधिक सहकार्यमा यो अभिनव पहल गरिएको हो । यसले पोखरा भ्रमणलाई अझ सहज, जानकारीमूलक र स्मरणीय बनाउने विश्वास गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार रत्न मन्दिर, रुपा ताल, सराङकोट, काहुँडाँडा, हरिहर गुफा, भद्रकाली, शीतलादेवी, राम मन्दिर, रामघाट, कवि शिरोमणि लेखनाथ सङ्ग्रहालय, सीता गुफा, लक्ष्मीनारायण नारायणस्थान, श्री गणेश भद्रकाली मन्दिर, काहुँ धरहरा, अकलादेवी मन्दिरलगायतका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक गन्तव्यमा क्युआर कोडसहितका सूचना बोर्ड जडान गरिएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार क्युआर कोडमार्फत पर्यटकले गन्तव्यसम्बन्धी जानकारी अरेबिक, चाइनिज, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, जापानी, कोरियन, रसियन र स्पेनिश गरी ११ भाषामा पढ्न सक्नेछन् । साथै नेपाली, अङ्ग्रेजी, हिन्दी, चिनियाँ र फ्रेन्च भाषामा जानकारी सुन्ने सुविधा पनि उपलब्ध छ ।
परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार प्रत्येक गन्तव्यमा दुईवटा क्युआर कोड राखिएको छ । एउटाबाट सम्बन्धित गन्तव्यको विस्तृत जानकारी प्राप्त हुन्छ भने अर्को कोड स्क्यान गर्दा पोखराका घुम्नै पर्ने अन्य प्रमुख पर्यटकीय स्थलहरूको जानकारी लिन सकिन्छ ।
प्रविधि र पर्यटनको संयोजनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकमैत्री गन्तव्यका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ । क्युआर कोडमार्फत सूचना उपलब्ध गराउने यो प्रयासले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
