एपीएफले जोगायो त्रिवेणी कपको उपाधि, फाइनलमा लाङ्दीदेवी २-० ले पराजित

Share:

पोखरा। विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २-० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ।

गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन। करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाए।

एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७औं मिनेटमा युवराजको गोलमार्फ एपीएफले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २-० को सहज जित पक्का गरे।

योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। नाल्मा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो। एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४-३ ले पाखा लगाएको थियो। खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे।

व्यक्तिगत विधातर्फ एपीएफले एकलौटी सफलता जमायो। सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए। यी दुईले समान ३ गोल गरे। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

कमेन्ट गर्नुहोस्
Share: