
पोखरा। नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा वरिष्ठ शिक्षासेवी रामप्रसाद शर्माको मंगलबार निधन भएको छ। २००२ साल चैत २२ गते जन्मिनुभएका शर्माको मंगलबार नै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
स्व. शर्माको निधनले कास्की मात्र होइन, समग्र शैक्षिक क्षेत्रले एक दूरदर्शी, समर्पित र अनुभवी अभिभावक गुमाएको नेसनल प्याब्सन कास्कीले जनाएको छ। उहाँको परिवारमा श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन्।
स्व. शर्मा २०६१ सालदेखि २०७० सालसम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहँदै संस्थाको स्थापना, सुदृढीकरण तथा शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। उहाँको नेतृत्वकालमा संस्थाले संगठनात्मक गतिशीलता हासिल गर्नुका साथै निजी तथा संस्थागत विद्यालयहरूको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेलेको संस्थाले स्मरण गरेको छ।
निधनप्रति दुःख व्यक्त गर्दै नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले मंगलबार संयुक्त शोक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ,
“उहाँको निधनले नेसनल प्याब्सन कास्कीलाई मात्र नभई समग्र देशले नै एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ। यस दुःखद घडीमा ब्रह्मलीन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।”
विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना समेत गरिएको छ।
संस्थाका अनुसार स्व. शर्माको दूरदर्शिता, नेतृत्व क्षमता र शिक्षाप्रतिको समर्पण चिरकालसम्म स्मरणीय रहनेछ। स्व. शर्माको सम्झनामा नेसनल प्याब्सन कास्कीअन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूमा बुधबार शोक सभा आयोजना गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। साथै, पाँचौँ दिनको पुण्यतिथि अर्थात् २६ गते स्व. शर्माको निवासमा संस्थाको तर्फबाट विशेष शोक सभा आयोजना गरिने भएको छ।
