राँको बालेर कोटेश्वरमा लाग्यो महामन्त्री गगन थापाविरुद्ध मुर्दावादको नारा

Share:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस कार्यकर्ताहरूको एक समूहले काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको छ। पार्टी नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिमाथि दुर्व्यवहार गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले राँको बालेर चर्को नाराबाजी गरेका हुन्।

तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरू कोटेश्वर चोकमा भेला भई महामन्त्री थापाको विरोधमा उत्रिएका थिए। उनीहरूले निधिमाथि भएको भनिएको दुर्व्यवहारलाई लिएर आक्रोश व्यक्त गर्दै थापाविरुद्ध नारा लगाएका हुन्।

यसअघि कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा देखिएको दुई धारको विवादका बीच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र त्यहाँ प्रदर्शनरत समूहबीच चर्काचर्की भएको थियो।

उक्त घटनाका क्रममा केही प्रदर्शनकारीले नेता निधिलाई अपशब्द प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा फैलिएको भिडियोमा देखिन्छ। कोटेश्वरमा भएको आजको प्रदर्शन सोही घटनाको प्रतिक्रियास्वरूप गरिएको बताइएको छ।

पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा शीर्ष नेतृत्वविरुद्ध सार्वजनिक रूपमा भएको यस प्रकारको प्रदर्शनले कांग्रेसभित्रको असन्तुष्टि सतहमा आएको संकेत गरेको विश्लेषण गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: