
पोखरा । गण्डकी प्रदेशबाट आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा दुई पद रिक्त हुँदैछन्। खुला तर्फका सांसद नारायणकाजी श्रेष्ठ र महिला खुला तर्फकी सांसद भगवती न्यौपाने ले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका हुन्। रिक्त हुने यी दुवै पदमा सोही क्लस्टरबाट नयाँ सांसद निर्वाचित हुनेछन्।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेको छ, जसका कारण गण्डकी प्रदेशमा दुवै सिट गठबन्धनकै पक्षमा जाने सम्भावना बलियो देखिएको छ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य तथा १७० स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ।
प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन्, जसको कुल मतभार १ हजार ४३१ हुन्छ। स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन्, जसको मतभार १ हजार २५२ पुग्छ।
त्यसैगरी नेकपा एमालेका २२ प्रदेशसभा सदस्य छन्, जसको मतभार १ हजार १६६ हुन्छ भने स्थानीय तहमा एमालेका ७० जना जनप्रतिनिधि छन्, जसको मतभार १ हजार ३३० रहेको छ।
कांग्रेस र एमालेको मतभार जोड्दा कुल ५ हजार १८१ मतभार पुग्छ, जुन कुल मतभारको दुईतिहाइभन्दा बढी हो। अन्य दलहरूको अवस्थालाई हेर्दा गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि रहेका छन्, जसको कुल मतभार ९४१ मात्रै छ। राष्ट्रिय जनमोर्चा सँग ७६ मतभार रहेको छ भने उसले स्थानीय तहमा ४ पद जितेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १०६ मतभार छ। प्रदेशसभामा राप्रपाका २ सांसद छन्। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी सँग १ सांसद रहेको र त्यसको मतभार ५३ रहेको छ। यी दलहरू हालसम्म कुनै पनि गठबन्धनतर्फ खुलेका छैनन्।
यस अवस्थाले गण्डकी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको वर्चस्व स्पष्ट देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
