कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिँदै

Share:

काठमाडौं । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। मन्त्री घिसिङ निकट स्रोतका अनुसार विशेष परिस्थिति नआएमा उहाँले पदबाट अलग हुने सम्भावना बलियो देखिएको छ।

‘मन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको छ,’ घिसिङ निकट स्रोतले भन्यो, ‘विशेष परिस्थिति आएन भने उहाँले राजीनामा दिनुहुन्छ।’

घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरी उपसभापति बनेपछि उहाँमाथि मन्त्री पदमा बसिरहन नहुने भन्दै राजनीतिक तथा नैतिक दबाब बढ्दै आएको थियो। पार्टीगत जिम्मेवारी र मन्त्री पद एकसाथ सम्हाल्नु उपयुक्त नहुने भन्दै विभिन्न तहबाट प्रश्न उठ्न थालेपछि घिसिङ स्वयं पनि पदमा बस्न अनिच्छुक देखिएको स्रोतको दाबी छ।

‘धेरै प्रश्न उठेपछि पदमा बस्ने मन उहाँको छैन,’ स्रोतले थप्यो।

बुधबार मन्त्री घिसिङले मन्त्रालयमा दिनभर आन्तरिक छलफल र तयारी गरेको बताइएको छ। राजीनामाको औपचारिक घोषणा भने अझै सार्वजनिक भइसकेको छैन।

घिसिङको सम्भावित राजीनामालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ भने यसले सरकार तथा रास्वपाभित्रको शक्ति सन्तुलनमा असर पार्ने विश्लेषण हुन थालेको छ।

कमेन्ट गर्नुहोस्
Share: