रत्ननगर महोत्सवको १३औँ संस्करण शुक्रबारदेखि, चार लाख दर्शक र २५ करोडभन्दा बढी कारोबारको अपेक्षा

Share:

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका-स्थित टिकौलीचौरमा शुक्रबारदेखि रत्ननगर महोत्सवको १३औँ संस्करण भव्य रूपमा सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा तथा रत्ननगर नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गरे।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे। उनले अर्थतन्त्रको सुधारका लागि राज्यले निजी क्षेत्रमैत्री लगानी वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ थियो ।

संघका अध्यक्ष गिरीका अनुसार यस वर्षको महोत्सवमा रामजानकी मन्दिरको आकृतिमा भव्य प्रवेशद्वार निर्माण गरिएको छ । साथै जनजाति समुदायको संस्कृति झल्किने ‘सांस्कृतिक गाउँ’, बेरोजगारी समस्या न्यूनीकरणका लागि रोजगार मेला तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले महोत्सवलाई स्थानीय सरकारले निरन्तर संरक्षकत्व दिँदै आएको बताउँदै किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी स्थानीय उत्पादनको बजारीकरणमा जोड दिन आग्रह गरे। महोत्सव मनोरञ्जनमा मात्र सीमित नहुने गरी उद्देश्य प्राप्ति उन्मुख गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

उद्घाटन समारोहमा प्रदेश सभा सदस्यहरू जेएन थपलिया र कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, नेकपा (माओवादी केन्द्र) जिल्ला सह–इन्चार्ज कञ्चन खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए।

उद्घाटन कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको इतिहास र अर्थतन्त्र तथा कृषि प्रवर्द्धनमा यसको भूमिकाबारे प्रकाश पारे ।

महोत्सव उद्घाटनपूर्व शुक्रबार बिहान रत्ननगरमा भव्य शोभायात्रा निकालिएको थियो । नेपाल माध्यमिक विद्यालयको खेलमैदानबाट सुरु भएको शोभायात्रामा १२५ भन्दा बढी संघ-संस्थाको सहभागिता रहेको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ काफ्लेले जानकारी दिए ।

पौष ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा मह उत्पादन तथा बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ । महको प्रवर्द्धनका लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला-संस्कृति र व्यापारलाई केन्द्रमा राख्दै चितवनको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए ।

आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठका अनुसार यस पटक महोत्सवमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवअन्तर्गत भजन, शंखध्वनि, महिला कबड्डी, अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता, बालउद्यानमा ‘कस्मिर भ्याली’सहितका मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन् । पर्यटन प्रवर्द्धनका लागि खगेरी खोलामा मोटरबोट तथा सामुदायिक वन क्षेत्रमा जीप सफारीको व्यवस्था गरिएको छ ।

महोत्सवमा अल्लो र गाँजाको बोटबाट बनेका कपडाका स्टलसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ५०० स्टल रहनेछन् । साथै ‘बिर्सन नहुने बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत ज्ञान’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धनका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

यसै क्रममा पौष २९ देखि माघ ४ गतेसम्म सौराहाचोक बसपार्कमा छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिनेछ । टाँडी बजारलाई चलायमान बनाउने र स्थानीय खानाका परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष एवं संयोजक ज्ञानबहादुर विश्वकर्माले जानकारी दिए।

कृषि प्रवर्द्धन समितिका संयोजक रघुनाथ भट्टका अनुसार महोत्सवअन्तर्गत बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह तथा रैथाने बालीको प्रदर्शन र बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: