गण्डकीका १८ सिटमा रास्वपाको नजर, बालेन समूहको मात्रै एक तिहाई सिटमा दाबी

Share:

पोखरा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक प्रतिस्पर्धा चर्किन थालेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नेताहरूले अनलाइनमार्फत आवेदन दिएका छन् भने उम्मेदवार छनोट प्रक्रिया सुरु हुनुअघि नै सिट बाँडफाँटलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ ।

रास्वपा स्रोतका अनुसार विशेषगरी भर्खरै पार्टी एकतामा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह समूहलाई गण्डकीमा कति सिट दिने भन्ने विषय मुख्य बहसको केन्द्रमा छ । बालेन समूहले गण्डकीका प्रतिनिधि सभा अन्तर्गत रहेका १८ सिटमध्ये करिब एक तिहाई सिटमा दाबी गरेको छ । तीमध्ये एउटा सिटमा भने रास्वपाले उम्मेदवारी नदिने तयारी गरेको बताइन्छ ।

यसैबीच जेनजी अभियन्ता सुदन गुरुङले गोरखा-१ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी रास्वपाका आधिकारिक उम्मेदवार नभए पनि उक्त क्षेत्रमा पार्टीले उम्मेदवारी नदिई उनलाई सघाउने तयारी भइरहेको रास्वपाका नेताहरू बताउँछन् ।

गण्डकी प्रदेशमा बालेन समूहले ८ सिटमा दाबी गरेको छ । दुई निर्वाचन क्षेत्र भएका जिल्लाबाट एक सिट र एक मात्र निर्वाचन क्षेत्र भएका तीन जिल्लामा उम्मेदवारी लिने विषयमा छलफल भइरहेको बालेन निकट स्रोतले जनाएको छ । यद्यपि कुन क्षेत्र लिने भन्ने विषय अझै टुंगो लागेको छैन ।

कास्की क्षेत्र नम्बर १ मा बालेन समूहको विशेष दाबी रहेको छ । सो क्षेत्रबाट केन्द्रीय सदस्यसमेत रहेका खड्कराज पौडेल ‘गनेस’को उम्मेदवारी लगभग निश्चित मानिएको छ । केन्द्रमा पार्टी एकता भइसके पनि तल्लो तहसम्म समायोजन प्रक्रिया टुंगिन बाँकी छ ।

रास्वपाका सदस्यहरूले अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका छन् भने बालेन समूहका सम्भावित उम्मेदवारहरूको सूची गनेसले तयार गरिरहेका छन् । ‘सबै क्षेत्रबाट नाम संकलन भइसकेको छ, कुन क्षेत्र पाउने भन्ने टुंगिएको छैन,’ उनले भने, ‘हामी जित्ने उम्मेदवारलाई नै टिकट दिने रणनीतिमा छौं।’

उम्मेदवारी वितरणमा बालेन र रास्वपा भनेर विभाजन नहुने गनेसको भनाइ छ । ‘जसको जित्ने सम्भावना देखिन्छ, उसैलाई टिकट दिने हो,’ उनले स्पष्ट पारे । रास्वपाले गण्डकीका सबै निर्वाचन क्षेत्रबाट आकाङ्क्षीको नाम संकलन गरिसकेको छ । पार्टीको आन्तरिक रिपोर्ट अनुसार गण्डकीबाट ८ देखि १२ सिट जित्ने लक्ष्यसहित तयारी भइरहेको छ ।

तनहुँ-१ बाट उपसभापति स्वर्णीम वाग्ले, गोरखा-२ बाट महामन्त्री कविन्द्र बुर्लाकोटी, नवलपुर-१ बाट प्रदेश सभापति राजन गौतम र स्याङ्जा-१ बाट धनञ्जय रेग्मीलाई टिकट दिने तयारी रहेको छ । यद्यपि यी क्षेत्रमा अन्य आकाङ्क्षीहरूको दाबी पनि कायमै छ ।

तल्लो तहको समायोजन प्रक्रिया अझै बाँकी रहे पनि पार्टीका आन्तरिक कार्यक्रममा बालेन समूह सक्रिय हुन थालेको छ । आकाङ्क्षी धेरै भएपछि गण्डकीका प्रायः सबै निर्वाचन क्षेत्रमा रास्वपाभित्र कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: