
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३७ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्रमुख कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्बहाली भएर आएपछि पहिलो पटक ठुलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार प्राधिकरणका निर्देशक, प्रबन्धक, उप-प्रबन्धक, सुपरभाइजर, इलेक्ट्रेसियन, फोरमेनदेखि लेखा समूहका कर्मचारीसम्मको जिम्मेवारी हेरफेर गरिएको छ । सरुवामा उत्पादन, प्रसारण, वितरण, विद्युत् व्यापार, आयोजना व्यवस्थापन तथा प्रादेशिक कार्यालयहरू समेटिएका छन्।
यस क्रममा उच्च तहमा समेत परिवर्तन गरिएको छ । प्राविधिक निर्देशकहरूलाई विद्युत् व्यापार विभाग, उच्च तथा मध्यम भोल्टेज ग्रिड विकास विभाग, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग तथा आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत विभिन्न आयोजनाको प्रमुख तथा संयोजकको जिम्मेवारी दिइएको छ ।
प्राधिकरणको सरुवा सूचीअनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमतीलगायत प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कोहलपुर ग्रिड शाखा, फुठुङ सबस्टेशन, काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना, विभिन्न १३२ केभी र ४०० केभी प्रसारण लाइन आयोजना तथा जलविद्युत कम्पनीहरूमा जिम्मेवारी तोकिएको छ ।
