
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचनकै बाटोमा धकेलिएको छ। पार्टीभित्रको नीति र नेतृत्व परिवर्तनको चर्को बहसका बीच सभापति शेरबहादुर देउवाले नेतृत्व नछोड्ने अडान लिएपछि ‘सहमति’को अध्याय टुङ्गिएर ‘निर्वाचन’को प्रक्रिया सुरु भएको हो।
रातभरका विभिन्न चरणका वार्ता र संवादमा पनि संस्थापन पक्ष (देउवा समूह) र विशेष महाधिवेशन पक्षधरबीच कुरा नमिल्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
देउवाको अडान : नेतृत्व नछोड्ने, चुनाव रोज्ने
विशेष महाधिवेशनका नेताहरूले सभापति देउवालाई नेतृत्वबाट ससम्मान विदा हुन र बाँकी जीवन लेखन तथा पार्टीको संरक्षकका रूपमा बिताउन प्रस्ताव गरेका थिए। तर, देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै नयाँ नेतृत्व चयन गर्ने तयारीमा विशेष महाधिवेशन पक्षधर जुटेका छन्।
विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार संस्थापन पक्षले अन्तिम समयसम्म वार्ताको प्रयास गरिरहे पनि त्यो फलदायी हुने देखिएको छैन। “हाम्रो निर्वाचनको तालिका यथावत् छ। सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ,” पोखरेलले स्पष्ट पारे।
गगन-विश्वको नीति पारित
महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको राजनीतिक तथा सांगठनिक प्रतिवेदन मंगलबार साँझ सर्वसम्मतिले पारित भएको छ। नीतिमा सफलता पाएसँगै अब विशेष महाधिवेशन पक्षधरको ध्यान ‘नेतृत्व परिवर्तन’मा केन्द्रित भएको छ। प्रतिवेदन पारित भएसँगै बन्द सत्र समापन गरी निर्वाचनको प्रक्रियालाई तीव्रता दिइएको छ।
को-को भिड्दैछन् ?
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार निर्वाचनको नयाँ तालिका सार्वजनिक गरिएको छ। जसअनुसार बुधबार बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्म मनोनयन दर्ताका लागि समय थप गरिएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको साझा खाका (प्यानल) तयार पारिरहेका छन्। देउवा नेतृत्व छोड्न तयार नभएपछि अब चुनावी मैदानमै ‘शक्ति परीक्षण’ हुने निश्चित भएको छ।
बुधबार बिहानसम्म वार्ताको ढोका केही बेर खुला राखिए पनि निर्वाचन प्रक्रिया भने नरोकिने नेताहरूले बताएका छन्। नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले पार्टीमा कस्तो नयाँ समीकरण ल्याउने हो, त्यो भने निर्वाचनको परिणामले नै देखाउनेछ।
