पिसिएम स्पोर्ट्स मिट-२०२६ आजदेखि, ११० स्वर्ण र ११० रजत पदकका लागि ३०० विद्यार्थीबीच प्रतिस्पर्धा

Share:

पोखरा । पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोर्ट्स मिट-२०२६ औपचारिक रूपमा सुरु भएको छ। कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक विशेष समारोहबीच संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, बीसीएस आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेललगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। समारोहलाई थप आकर्षक बनाउँदै बीबीए सातौँ सेमेस्टरका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

सप्ताहव्यापी रूपमा सञ्चालन हुने स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रस्साकसी, ई–गेम्स तथा अन्य मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका छन्। प्रतियोगितामा बीबीए, बीबीए फाइनान्स र बीएससी आइटी कार्यक्रमअन्तर्गत अध्ययनरत करिब ३०० विद्यार्थीहरू सहभागी छन्, जसले ११० स्वर्ण र ११० रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने टिमले च्याम्पियन्स ट्रफी प्राप्त गर्ने बीबीए कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, आपसी भाइचारा वृद्धि र अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कलेजले हरेक वर्ष नियमित रूपमा सप्ताहव्यापी खेलकुद महोत्सव आयोजना गर्दै आएको छ।

उत्साह र प्रतिस्पर्धात्मक भावनाले भरिएको पिसिएम स्पोर्ट्स मिट-२०२६ ले विद्यार्थीहरूबीच खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: