
पोखरा। निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’को प्रचार-प्रसार अन्तर्गत पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पोखराको इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।
कन्सर्टका क्रममा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा तथा ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे। पछिल्लो समय टिकटकमा भाइरल बनेको गीत “डोको बुन्ने”मा झुम्दै उनीहरूले दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दा माहोल थप उल्लासमय बनेको थियो। कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे।
कार्यक्रमलाई थप उचाइमा पुर्याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त लाइभ प्रस्तुतीले पोखराका दर्शकहरूलाई झुमायो। संगीत, नृत्य र दर्शकको सक्रिय सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको आयोजकले जनाएको छ।
‘कुमारी’ मार्फत डेब्यु गरेका अभिनेता अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।” आफू पनि जेनजी पुस्ताकै प्रतिनिधि भएकाले उक्त पुस्ताबाट चलचित्रलाई राम्रो साथ मिल्ने विश्वास उनले व्यक्त गरे।
त्यसैगरी अभिनेत्री आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफू भावुक बनेको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया अत्यन्त सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ,” उनले भनिन्।
चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’प्रति दर्शकको अपेक्षा स्पष्ट देखाएको बताए। “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनको भनाइ थियो।
आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्र सफल हुने बलियो संकेत दिएको निर्माण टिमको निष्कर्ष छ। नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। निर्माण टिमले सबै दर्शकलाई नजिकको सिनेमा हलमा पुगेर नेपाली चलचित्रलाई साथ दिन आग्रह गरेको छ।

