पोखरा-भुटान पर्यटन सहकार्यबारे छलफल

Share:

पोखरा । पोखरा भ्रमणमा आएका भुटानको टुर्स अपरेटर्स एसोसिएसनका बोर्ड सदस्य कर्मा नाम्गेले पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा पोखरा र भुटानबिच पर्यटन आदान-प्रदान विस्तार गर्ने सम्भावनाका विषयमा छलफल भएको छ।

भुटानको समग्र पर्यटन क्षेत्रलाई मार्गदर्शन गर्दै आएको टुर्स अपरेटर्सहरूको साझा संस्था एसोसिएसनले पोखरालाई भुटानी पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने धारणा राखेको छ।

बोर्ड सदस्य नाम्गेले पोखरा-भुटान सिधा उडानलाई नियमित गर्न सकिए भुटानबाट ठूलो सङ्ख्यामा पर्यटक पोखरा आउन सक्ने उल्लेख गरे।

नगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाले भुटानसम्मको हवाई उडान नियमित गराउन सङ्घ सरकार तथा नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर पहल गरिरहेको जानकारी दिए।

उनले भुटान प्रवेशाज्ञा तथा त्यहाँ पर्यटकले तिर्नुपर्ने खर्च तुलनात्मक रूपमा महँगो रहेको उल्लेख गर्दै त्यसमा सहजीकरणका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

यसअघि भुटान एयरलाइन्सले पोखरा-पारो (भुटान) सिधा उडान सञ्चालन गरेको थियो। चार्टर उडानका रूपमा चारवटा उडान तालिका बनाइए पनि विभिन्न कारणले ती उडान स्थगित भएका थिए।

ती उडानलाई पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। सो अवसरमा भुटान एयर र नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एन्ड ट्राभल्सबीच चारवटा चार्टर उडान सञ्चालन गर्ने सहमति भएको थियो।

पोखरा र भुटानबिचको पर्यटन सहकार्य सुदृढ भएसँगै दुबै मुलुकका पर्यटन व्यवसायी तथा स्थानीय अर्थतन्त्रलाई सकारात्मक लाभ पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: