
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औँ संस्करणको पोखरा महोत्सव सातौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। अघिल्ला संस्करणहरूकै निरन्तरता दिँदै यस वर्षको महोत्सवले पनि पोखरेली दर्शकको भरपूर साथ पाएको हो। सातौँ दिन मात्रै हजारौँ दर्शकले महोत्सव अवलोकन गरेका छन्।
दर्शकको उपस्थितिसँगै महोत्सव स्थलमा राखिएका विभिन्न स्टलमा व्यापारसमेत दिनप्रतिदिन बढ्दै गएको महोत्सवका अर्थ व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए। उनका अनुसार विशेषगरी लत्ताकपडा, घरायसी सामग्री तथा कृषिजन्य उत्पादनको बिक्री उल्लेख्य रूपमा वृद्धि भएको छ।
महोत्सवबाट संकलित आम्दानी सामाजिक कार्यमा खर्च गरिने भएकाले पनि पोखरा महोत्सवले निरन्तर दर्शकको साथ पाउँदै आएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए। उनका अनुसार युनाइटेड क्लबद्वारा आयोजित पोखरा महोत्सव १४ औँ संस्करणसम्म आइपुग्नु दर्शककै विश्वास र समर्थनको परिणाम हो। यस संस्करणबाट प्राप्त आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्रावासमा खर्च गरिने उनले जानकारी दिए।
युनाइटेड क्लबले पोखरा महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सेती नदी संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आइरहेको छ। महोत्सवमा दैनिक रूपमा फरक-फरक चर्चित कलाकारको प्रस्तुति रहने भएकाले पनि दर्शकको आकर्षण बढेको महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए। उनका अनुसार दिनमा लोकदोहोरी तथा हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुति रहने भएकाले विशेषगरी साँझको समयमा युवाको उल्लेख्य सहभागिता देखिने गरेको छ।
महोत्सवको सातौँ दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। अर्जुनसँगै चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाललगायत कलाकारको प्रस्तुतिमा दर्शक झुमेका थिए। साँझको लाइभ ब्याण्डतर्फ लेकाली ब्याण्डको प्रस्तुतिमा पोखरेलीहरू रमाएका थिए।
त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनले प्रस्तुति दिएका प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए। महोत्सवको आठौँ दिन मंगलबार लोकदोहोरीतर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पूजा तामाङलगायतको प्रस्तुति रहनेछ। साँझको लाइभ ब्याण्डतर्फ एवाईजी ब्याण्डको प्रस्तुति रहने महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
