
पोखरा । कास्कीका तीनै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की-१, २ र ३ मा गरी ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ठूला दलसँगै नयाँ र साना दल तथा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिताले यसपटकको निर्वाचनलाई थप रोचक बनाएको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर-१ मा १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ उम्मेदवार मैदानमा उत्रिएका छन् । यहाँ १४ पुरुष र एक महिला उम्मेदवार छन् । कांग्रेसबाट तीलकराम रानाभाट, एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेकपाबाट राजकाजी गुरुङ (करण) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । कांग्रेसको परम्परागत गढ मानिने यस क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेले जित निकालेको थियो । त्यसैले यसपटक सत्ता र विरासत जोगाउने तथा खोस्नेबीच कडा टक्कर हुने संकेत देखिएको छ ।
एमालेको किल्लामा चुनौती थपिँदै
कास्की-२ मा १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ पनि १६ पुरुष र एक महिला उम्मेदवार छन् । एमालेकी रस्मी आचार्य, कांग्रेसका माधवप्रसाद बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद) र रास्वपाका उत्तम पौडेल बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०६४ सालदेखि निरन्तर एमालेले जित्दै आएको यो क्षेत्रमा स्व। रविन्द्र अधिकारी र पछि उनकी धर्मपत्नी विद्यादेवी भट्टराईको विजय इतिहास छ । एमालेको किल्ला भत्काउने प्रयासमा विपक्षी दल आक्रामक देखिएका छन् ।
कास्की-३ मा १५ दलका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा १३ पुरुष र २ महिला उम्मेदवार छन् ।
एमालेबाट पुनः दामोदर पौडेल (बैरागी) मैदानमा उत्रिएका छन् भने कांग्रेसका मनोज गुरुङ र रास्वपाकी बिना गुरुङ प्रमुख चुनौतीका रूपमा देखिएका छन् । लगातार एमालेले जित्दै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको चाहना र निरन्तरताबीच मतदाताको निर्णय निर्णायक बन्ने देखिन्छ ।
