
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा जारी चौथो वडा खेलकुद महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण रूपमा अघि बढेको छ । महोत्सवको दोस्रो दिन ब्याडमिन्टन, युनिहकी र भलिवल प्रतियोगिता सुरु भएका छन् भने फुटबलतर्फ पनि प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । मितेरी टोलस्थित मितेरी बहुउद्देश्यीय भवनमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक जनार्दन जिसीले गरेका थिए ।
उद्घाटन समारोहमा जिसीले खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई सामाजिक सद्भाव, भाइचारा र एकताको भावना विकास गर्ने उल्लेख गर्दै मोबाइलमा सीमित दैनिकीलाई सक्रिय जीवनशैलीतर्फ मोड्न खेलकुद प्रभावकारी माध्यम भएको बताए ।
ब्याडमिन्टनतर्फ पुरुष डबलका ६ खेल र सिंगलका ४ खेल सम्पन्न भएका छन् भने महिला डबलका ६ र सिंगलका २ खेल सम्पन्न भएका छन् । वन विज्ञान अध्ययन संस्थानको भलिवल कोर्टमा सुरु भएको महिला तथा पुरुष भलिवल प्रतियोगिताको उद्घाटन टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण शर्माले खेलाडीलाई बल हस्तान्तरण गरी गरेका थिए ।
शर्माले पोखरा–१५ ले महानगरमै पहिलो पटक खेलकुद महोत्सवको सुरुवात गरी चौथो संस्करणसम्म निरन्तरता दिएकोमा वडाको प्रशंसा गर्दै खेलले समुदायबीच आपसी समझदारी र भाइचारा मजबुत बनाउने बताए ।
भलिवलतर्फ पुरुषका ४ र महिलाका २ खेल सम्पन्न भएका छन् । पुरुषतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्थाले सुनगाभा जाल्पारोडलाई, चन्द्र सूर्य क्लबले तल्लो सिमलबोटलाई, गलेश्वर युवा क्लबले फलेपाटनलाई र स्यानी मजुवा टोल विकास संस्थाले अलकापुरलाई सोझो सेटमा पराजित गरे । महिला भलिवलतर्फ जनजागृति आमा समूह र एकता आमा समूहले आ-आफ्ना खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
महानगरस्तरीय युनिहकीमा विद्यालयहरूको शानदार प्रदर्शन
मंगलबार नै पोखरा–१५ स्थित हिमालयन लाइफ नेपालमा महानगरस्तरीय छात्रछात्रा युनिहकी प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान उपाध्यक्ष ध्वजकुमार गुरुङले गरेका थिए ।
गुरुङले विद्यालयदेखि आमा समूह र प्रौढसम्मलाई समेटेर खेलकुद महोत्सव आयोजना गर्नु उदाहरणीय भएको भन्दै यसले देशका लागि खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।
युनिहकीतर्फ दिनभर १० प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् । एसओएस, सिद्ध मावि, सुक्रराज बलभद्र, भ्यू प्वाइन्ट, इमानुएल र थ्री एन्जल मिसन स्कूलले उत्कृष्ट प्रदर्शन गरेका छन् । पेनाल्टी सुटआउटसम्म पुगेका खेलहरूले दर्शकलाई रोमाञ्चित बनाएका थिए । फुटबलतर्फ विद्यालय र टोल विकास संस्थाबीच भएका खेलमा हार्वर्ड एकेडेमी, एसओएस, निर्मल टोल र चन्द्र सूर्य क्लब विजयी भएका छन् ।
प्रतियोगिता संयोजक आशिष भण्डारीका अनुसार खेलकुद महोत्सव अन्तर्गतका सबै प्रतियोगितामा सहभागिता र दर्शकको उत्साह उल्लेखनीय रहेको छ । पोखरा-१५ मा जारी खेलकुद महोत्सवले खेलमार्फत समुदायलाई एकताबद्ध गर्दै स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।



