
पोखरा । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार गर्यो । तर, सरकारसँग अपेक्षा धेरै थियो, ढुकुटी कमजोर । यही परिस्थितिमा तत्कालीन सरकारले राजश्व वृद्धि गर्न कर प्रणाली सुधारको अभियान सुरु गर्यो । त्यसैको परिणामस्वरूप मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने नीति पारित भयो ।
तर, भ्याटको सुरुवात सहज थिएन । निजी क्षेत्र त्यसको विपक्षमा थियो । व्यवसायीहरू भ्याटविरुद्ध एकजुट हुँदै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमाथि दबाब दिइरहेका थिए । त्यस समय महासंघको अध्यक्ष थिए-पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीति समर्थन गर्दा अध्यक्ष मुल्मी र महासंघ दुवै कठिन दबाबमा परे । जिल्ला-जिल्लाबाट, विशेषतः ठूला व्यवसायीहरूबाट आएको विरोधले उनलाई तनावग्रस्त बनायो ।
यद्यपि, मुल्मी आर्थिक विकासका लागि वैज्ञानिक कर प्रणाली अनिवार्य हुनेमा स्पष्ट थिए । भ्याट व्यवसायीले तिर्ने कर नभई उपभोक्ताबाट संकलन गरेर राज्यलाई बुझाउने प्रणाली हो र यसले निजी क्षेत्रप्रतिको राज्यको भरोसा बढाउँछ भन्ने उनको बुझाइ थियो । तर, त्यसलाई व्यवहारमा उतार्न सजिलो थिएन ।
यही क्रममा मुल्मी पोखरा आए । आफ्नो मातृ संस्था पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष तथा पदाधिकारीहरूसँग छलफल गरे । भ्याटको महत्व र दीर्घकालीन फाइदाबारे प्रष्ट पारे । त्यसपछि पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभियो । सुधार र तयारीका लागि समय माग गरियो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक भ्याट लागू भयो । आज भ्याट नेपाल सरकारको प्रमुख राजश्व स्रोत बनेको छ । भ्याट कार्यान्वयनको पक्षमा सबैभन्दा पहिला उभिएको पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट के हो भन्ने विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराएको छ ।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडी को आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गरी एकदिने भ्याट तालिम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्की ले भ्याटबारे पत्रकारहरू जानकार हुनु आवश्यक रहेको बताए ।
“भ्याट के हो र यसले कति राजश्व योगदान गरेको छ भन्ने मात्रै होइन, भ्याट कसरी तिर्ने, बिल-बिजक कसरी राख्ने र दण्ड-जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि बुझ्नुपर्छ,” उनले भने, “कतिपय अवस्थामा गलत सूचना प्रवाह हुँदा ‘फलानो व्यवसायीले भ्याट छल्यो’ भन्ने अफवाह फैलिन्छ । सञ्चारकर्मी भ्याटबारे जानकार हुँदा यस्ता भ्रमपूर्ण समाचार रोकिन्छन् भन्ने हाम्रो विश्वास हो ।”
उद्घाटन सत्रकी प्रमुख अतिथि, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी ले सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको उल्लेख गर्दै भ्याटसम्बन्धी ज्ञानले पत्रकारको पेशागत तथा व्यक्तिगत जीवन दुवैमा सहयोग पुग्ने बताइन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल ले कर प्रणाली जटिल विषय भए पनि आम नागरिकको चासोको विषय भएकाले सरल ढंगले बुझाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
संघकी महासचिव शोभा गौतम का अनुसार तालिममा करिब ६५ जना पत्रकारको सहभागिता रहेको थियो । तालिमको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठ ले गरेका थिए । महासचिव गौतमले इच्छुक सञ्चारकर्मीहरूका लागि दोस्रो चरणमा पनि भ्याटसम्बन्धी तालिम आयोजना गरिने जानकारी दिइन् ।
