
पोखरा । प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोर्ट्स क्लबमाथि शानदार जित हात पारेको छ। राष्ट्रिय लिगको जिल्ला छनोटका रूपमा भइरहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रेले गण्डकीलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २७१ रनको विशाल स्कोर खडा गर्यो। माछापुच्छ्रेको इनिङ्सको केन्द्रमा रहे सुमित श्रेष्ठ, जसले १५८ बलमा आकर्षक १३० रनको शतकीय पारी खेले। उनलाई प्रमोद बास्तोलाले २४ रन र दीपक माझीले २३ रनको योगदान दिए। गण्डकीका लागि स्रमत अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १–१ विकेट लिए।
२७२ रनको कठिन लक्ष्य पछ्याउन उत्रिएको गण्डकी टोली भने माछापुच्छ्रेका घातक बलिङसामु टिक्न सकेन। गण्डकी २१।१ ओभरमै मात्र ५० रनमा अलआउट हुन पुग्यो। श्रीराम प्रजापतिले ११ रन र विवेक अधिकारीले ९ रन बनाउनु बाहेक अन्य ब्याटर पूर्ण रूपमा असफल रहे।
माछापुच्छ्रेका बलरहरू खेलभरि हावी देखिए। रितेश बरालले ५।१ ओभरमा ३ मेडनसहित मात्र ७ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई लक्ष्मण क्षेत्रीले ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट तथा रिदम पाण्डेले ६ ओभरमा ३ मेडनसहित १४ रन दिएर २ विकेट लिएर साथ दिए।
उत्कृष्ट शतकीय पारीका लागि सुमित श्रेष्ठ ‘प्लेयर अफ दि म्याच’ घोषित भए। माघ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ। समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन्। समूह ‘बी’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब समावेश छन्।
