वडा खेलकुद महोत्सवमा खेलको उत्सव: फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवअन्तर्गत बिहीबार फुटबल, भलिबल, सडक दौड तथा यूनी हकीका खेलहरू सम्पन्न भएका छन्। खेलकुद उत्सवको माहोलमा विद्यालयदेखि टोल र क्लबस्तरसम्मका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

विद्यालयस्तरीय फुटबलतर्फ एसओएस गण्डकी च्याम्पियन बनेको छ। बुधबार सम्पन्न फाइनल खेलमा एसओएस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

टोल तथा क्लबस्तरीय फुटबलतर्फ स्यानी मजुवा टोल विकास संस्था (बसुन्धरा मार्ग) र दिव्यज्योति क्लब फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोहअगाडि आयोजना गरिने खेलकुद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए।

महानगरस्तरीय विद्यालयस्तरीय यूनी हकी प्रतियोगितामा सेंट फ्रान्सिस विद्यालयले छात्र र छात्रा दुवै तर्फ उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। छात्रातर्फ, पहिलो सेमिफाइनलमा सेंट फ्रान्सिसले कालिका विद्यालयलाई ४-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनलमा सुकराज बालभद्र विद्यालयले विभूति विद्यालयलाई ४-२ गोलले हराउँदै फाइनलमा प्रवेश गर्‍यो।

तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिलाई ५-० ले पराजित गर्‍यो। फाइनलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५-१ ले हराउँदै उपाधि जित्यो।

छात्रातर्फ पहिलो सेमिफाइनलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८-० को फराकिलो अन्तरले पराजित गर्‍यो। दोस्रो सेमिफाइनलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९-४ ले हरायो।
तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४-२ ले हरायो। फाइनलमा सेंट फ्रान्सिसले कालिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि जित्न सफल भयो।

सडक दौडमा रानाहरूको दबदबा

पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल विकास संस्थाका क्याप्टेन याम बहादुर राना प्रथम भए। घलेचोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थानसम्मको दौड उनले ५ मिनेट ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पूरा गरे।

तल्लो नयाँगाउँ टोल विकास संस्थाका ठाकुर बहादुर थापा मगर दोस्रो र कोलपाटन टोल विकास संस्थाका ओम बहादुर खोर्जा तेस्रो भए। गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँका तिल बहादुर रानाले सान्त्वना स्थान पाए।

महिला सडक दौडतर्फ जनजागृति आमा समूहकी पोम कुमारी बुढा प्रथम भइन्। ट्याक्सी चोकदेखि महोत्सव स्थलसम्मको दूरी उनले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पूरा गरिन्।
एकता आमा समूहकी मनमाया राना दोस्रो र स्यानी मजुवा आमा समूहकी बसन्ती आले तेस्रो भइन्। संगम टोल महिला समूहकी रूपा बरुवाल र जनजागृति आमा समूहकी मिना कुमारी थापाले सान्त्वना स्थान प्राप्त गरे।

क्लब तथा टोल विकास संस्थाबीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा चन्द्रसूर्यले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
चन्द्रसूर्यले २५–१८, २५–१६ र २५–१६ को सेटमा जित हात पारेको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए।

महोत्सवकै अवसरमा शहरी स्वास्थ्य केन्द्र पोखरा–१५ मा आयोजित क्षयरोगसम्बन्धी एआई एक्स–रे परीक्षणमा ३८६ जनाले सेवा लिएका छन्। परीक्षणका क्रममा ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जनाको खकार परीक्षणका लागि नमूना पठाइएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन्।

उक्त स्वास्थ्य परीक्षणमा पोखरा–१५, ७ र ९ का बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। वडा खेलकुद महोत्सवले खेलकुदसँगै स्वास्थ्य सचेतना, सामुदायिक एकता र युवा सहभागितालाई समेत मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया छ।

कमेन्ट गर्नुहोस्
Share: