
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको कैलाली-१ बाट प्रतिनिधिसभा उम्मेदवारी जन्मकैदको सजाय कायम रहेको कारण खारेज गरिएको छ।
निर्वाचन अधिकृतका अनुसार सर्वोच्च अदालतको फैसलाबाट जन्मकैद पाएका व्यक्ति प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार उम्मेदवार बन्न अयोग्य हुन्छन्। आममाफी पाए पनि सजाय कायमै रहेको आधार लिइएको हो।
यस्तै, काठमाडौं-१० बाट मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेत कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको छ।
उता, पश्चिम नवलपरासी-२ मा नेपाली कांग्रेसका भरत थापाको उम्मेदवारी भने कायम भएको छ। एकै क्षेत्रमा दुई जनालाई टिकट दिइए पनि पहिला दर्ता भएकाले भरत थापाकै उम्मेदवारी मान्य गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
