मतदाताले शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन : कास्की-२ का उम्मेदवार रश्मि आचार्य

Share:

पोखरा । आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) तर्फबाट कास्की क्षेत्र नम्बर २ का युवा उम्मेदवार रश्मि आचार्यले देश र जनताको हित नै आफ्नो मूल मार्गदर्शन हुने स्पष्ट प्रतिबद्धता जनाएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा उम्मेदवार आचार्यले कास्कीका मतदाताहरूले दिएको मत कहिल्यै खेर जान नदिने दृढ अठोट व्यक्त गरेका छन्। “मेरो कारण कुनै पनि मतदाताले शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन,” उनले उल्लेख गरेका छन्।

आचार्यले ९३ वर्षीया अग्रज हजुरआमा पूर्णकुमारी आचार्य, बुवा–आमा तथा परिवारजनको आशीर्वाद लिएर निर्वाचन अभियानमा होमिएको जानकारी दिँदै कास्की क्षेत्र नं. २ का सम्पूर्ण मतदाताको साथ र विश्वासको अपेक्षा गरेका छन्।

उनले भावुक हुँदै हजुरआमाको भनाइ स्मरण गर्दै लेखेका छन्, “मेरो अब एउटै धोको बाँकी छ, तिमीलाई भोट दिने।” हजुरआमा, आमा र बुवाको आशीर्वाद लिएर मनोनयन दर्ता गरेको उल्लेख गर्दै उनले यसलाई आफ्नो राजनीतिक यात्राको प्रेरणाको स्रोत बताएका छन्।

“कास्की क्षेत्र नं. २ का सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको माया, ममता, आशीर्वाद र मतको अपेक्षा गरेको छु,” आचार्यले भनेका छन्, “हजुरहरूले दिनुभएको मतप्रति पूर्ण जिम्मेवार रहँदै सधैं सुख–दुःखमा साथ दिनेछु।”

देश, जनता र क्षेत्रको सार्थक विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले देश र जनताको भलो नै मेरो मूल मार्गदर्शन हुनेछ भन्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

कमेन्ट गर्नुहोस्
Share: