रास्वपाका उम्मेदवार युवराज रोकाको समर्थन महावीर पुनलाई, ‘त्रिभुज’मा मतदान गर्न मतदातासँग अपिल

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार युवराज रोकाले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई राजनीतिक रूपमा समर्थन गर्ने घोषणा गरेका छन्। बेनी बजारको वीरेन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै रोकाले पुनको पक्षमा उभिने स्पष्ट सन्देश दिएका हुन्।

प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन नसके पनि रोकाले निर्वाचनको मैदानमा आफू महावीर पुनकै साथमा रहेको बताए। उनले रास्वपाको तर्फबाट उम्मेदवारी दर्ता गराएको भए पनि पार्टीको उच्च तह र महावीर पुनबीच निरन्तर संवाद भइरहेको जानकारी दिए।

भावुक शैलीमा बोल्दै रोकाले महावीर पुनप्रति आफ्नो सम्मान व्यक्त गरे। ‘उहाँ कहिलेकाहीँ फोन नउठाउनु हुन्छ, उठाउनुभयो भने गाली पनि गर्नुहुन्छ,’ भन्दै उनले मुस्कुराउँदै भने, ‘तर उहाँ मेरो लागि अभिभावकजस्तै हुनुहुन्छ। बाबु भनेको बाबु नै हो, अपांग भए पनि बाबुको स्थान सधैं माथि नै हुन्छ।’ उनले महावीर पुनजस्तो व्यक्तिलाई जिताउनुपर्ने र त्यसमा पार्टीको चाहना पनि रहेको स्पष्ट पारे।

रोकाले म्याग्दी जिल्लाका मतदातालाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनको ‘त्रिभुज’ चुनाव चिन्हमा मतदान गरी भारी मतले विजयी गराउन आग्रह गरे। साथै, उनले रास्वपाका समर्थकहरूलाई पार्टीलाई नबिर्सन पनि अनुरोध गरे। यदि रास्वपाको नीति, कार्यशैली र ‘जान्नेलाई छान्ने’ अवधारणा मन परेमा समानुपातिकतर्फ एक भोट भने ‘घण्टी’ चुनाव चिन्हमा हालिदिन उनले विनम्र अपिल गरे।

यसअघि शुक्रबार उम्मेदवारी फिर्ताको समय सकिएपछि रोका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। तर समय समाप्त भइसकेकाले कानुनी रूपमा उम्मेदवारी फिर्ता गर्न नमिल्ने जानकारी दिइएको थियो। त्यसका कारण जिल्लामा रास्वपाको उम्मेदवारी औपचारिक रूपमा कायमै रहनेछ र मतपत्रमा घण्टी चुनाव चिन्ह पनि यथावत रहनेछ।

म्याग्दी जिल्लामा ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी कुल १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवार महावीर पुन ‘त्रिभुज’ चुनाव चिन्हसहित मैदानमा उत्रिएका छन्। यसअघि रास्वपाले पुनलाई ‘घण्टी’ चुनाव चिन्हबाट उम्मेदवार बन्न प्रस्ताव गरेको थियो, तर उक्त प्रस्तावलाई पुनले अस्वीकार गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: