
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ अन्तर्गत टारी-घैयाखेत टोलविकास संस्थाको दशौं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि पार्वती कुमारी शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा दिपा भट्टराई, सचिवमा पार्वती क्षेत्री, कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएका छन्। सदस्यहरूमा कुशल रानाभाट, हुम बहादुर भुजेल, शिव अधिकारी, मुना थापा, विष्णु माया पौडेल, सपना थापा र पार्वती शर्मा रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले टोलविकास संस्थाहरू वडाका अभिन्न अंग भएको उल्लेख गर्दै स्थानीय स्तरमा विकास निर्माण, सरसफाइ तथा सामाजिक कार्यमा टोलविकास संस्था र अन्य संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभामा संस्थाका अध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा जेष्ठ नागरिकहरू तिलमाया भारती, सन्तु अधिकारी, वित्रा क्षेत्री, पर्वले पौडेल, चन्द्री पौडेल, रमादेवी पौडेल, रुकुमाया अधिकारी, संस्थापक अध्यक्ष मैना पौडेल तथा पूर्व अध्यक्षहरू गंगाबहादुर चपाई र लक्ष्मी अधिकारीलाई सम्मान गरिएको थियो।
२०७३ सालमा स्थापना भएको टोलविकास संस्थाले पोखरा-२२ अन्तर्गत रानीबन नजिकका टारी र घैयाखेत टोललाई समेट्दै मासिक बचत कार्यक्रम सञ्चालन गरी महिला उद्यमीलाई आयआर्जनमा सहयोग पुर्याउँदै आएको संस्थापक अध्यक्ष मैना पौडेलले जानकारी दिइन्। संस्थाले यसअघि कृयापुत्री भवन निर्माणलगायतका सामाजिक कार्यहरू पनि सम्पन्न गरिसकेको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष मैना पौडेल, पूर्व अध्यक्ष गंगा प्रसाद चपाई, टारीखेत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रमाकान्ता पौडेल, जुनतारा आमा समूह घैयाखेतकी अध्यक्ष शान्ती भारती (ख), स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष कृष्ण रानाभाट, पूर्व अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व उपाध्यक्ष मदनकुमार मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको बीचमा १२ वर्षीया रजिना चपाईले प्रस्तुत गरेको आकर्षक नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो। संस्थाका अध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती कुमारी शर्माले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव पार्वती क्षेत्रीले गरेकी थिइन्।
