पोखरा महोत्सव : पोखरेलीका लागि उत्सव र पर्वको पहिचान

Share:

पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव पोखरेलीहरूका लागि केवल मेला मात्र नभई उत्सव र पर्वकै रूपमा स्थापित हुँदै गएको छ। आयोजक युनाइटेड क्लबले स्थापना कालदेखि नै हरेक वर्ष पुसको अन्तिम साता देखि माघको पहिलो हप्तासम्म नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको छ।

महोत्सव एकै समय र निश्चित मितिमा आयोजना हुने भएकाले दर्शकहरूले यसलाई पर्वकै रूपमा लिने गरेको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए। पोखरा तथा आसपासका क्षेत्रमा आयोजना हुने अन्य मेला-महोत्सवहरू कहिले निर्धारित समयविनै त कहिले पोखरा महोत्सवसँगै जुधाएर आयोजना गरिए पनि पोखरा महोत्सवले निरन्तर दर्शकको साथ पाइरहेको उनको भनाइ छ।

१३ दिनसम्म हरेक रात ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहने भएकाले युवा पुस्तामाझ पोखरा महोत्सवको छुट्टै पहिचान बनेको युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले बताए। महोत्सव आयोजना तथा लाइभ कन्सर्टका लागि खर्चिलो भए तापनि दर्शकलाई उत्कृष्ट मनोरञ्जन प्रदान गर्न आयोजक कुनै कसर बाँकी नराख्ने उनले बताए।

युनाइटेड क्लबले महोत्सवबाट प्राप्त आम्दानी सामाजिक सेवामा लगानी गर्दै आएको कारण पोखरेलीको माया र विश्वास महोत्सवले पाएको क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए। उनले महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सेती नदी संरक्षणजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए।

यसैबीच १४औँ पोखरा महोत्सव अन्तर्गत आयोजित विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड स्कुलले जितेको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल द्वितीय र शोसल पब्लिक स्कुल तृतीय भएका छन्। अन्जुली बोर्डिङ स्कुल, अमरसिंह माध्यमिक विद्यालय र विभूति शिक्षा सदनले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहहरूले क्रमशः नगद ५० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपाध्यक्ष गोरे गुरुङ, निवर्तमान सदस्य-सचिव मनकुमार श्रेष्ठ तथा नृत्य निर्देशक माधव गुरुङ र राहुल थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

विजेताहरूलाई युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सदस्य तथा प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

महोत्सव समापनको संघारमा पुगेसँगै दर्शकको भीड उल्लेख्य रूपमा बढ्दै गएको छ। दर्शकको उपस्थितिसँगै स्टलहरूमा कारोबार पनि बढिरहेको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए।

महोत्सवको १२औँ दिन लोकदोहोरी तर्फ प्रकाश दुतराजको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो भने साँझको लाइभ कन्सर्टमा भीटेनको प्रस्तुतिमा युवाहरू झुमेका थिए। महोत्सवको अन्तिम दिन माघ ११ गते चोलेन्द्र पौडेल, मञ्जु बिक, प्रकाश बराल, नेत्र खड्का, गंगा पौडेल, मुना राना मगर, नवराज अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टमा ‘पर्पल’ ब्याण्डको प्रस्तुति रहने महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

महोत्सवको समापन समारोह अपराह्न ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए।

कमेन्ट गर्नुहोस्
Share: