
पोखरा। बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ठगी प्रकरणमा नयाँ मोड आएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले यसअघि जाहेरी दिन छुटेका पीडित बचतकर्तालाई प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रहरीले माघ ११ गते सार्वजनिक सूचना जारी गर्दै अनुसन्धानका क्रममा समेटिन नसकेका तथा मुद्दा प्रक्रियामा छुट भएका बचतकर्तालाई रीतपूर्वक जाहेरी दर्ता गराउन आह्वान गरेको हो। प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखाका अनुसार सहकारीको बागलुङ बजारस्थित मुख्य कार्यालय, बुर्तिबाङ सेवा केन्द्र र गलकोट सेवा केन्द्र मा रकम बचत गरेका पीडितले जाहेरी दिन सक्नेछन्।
प्रहरीले पीडितहरूलाई यथाशीघ्र आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।यसअघि सहकारी ठगी प्रकरणमा ताराबहादुर कुँवरसहित १ हजार ५४३ जना पीडित ले दिएको जाहेरीका आधारमा अनुसन्धान पूरा भई मुद्दा अदालतमा दर्ता भइसकेको छ।
बागलुङ जिल्ला अदालतमा २०८० असार २५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत सहकारीका अध्यक्ष देवकुमार नेपालीसहितका प्रतिवादीविरुद्ध सहकारी ऐन, २०७४ अन्तर्गत अभियोग पत्र दायर गरिएको थियो।
मुद्दा अझै विचाराधीन रहेकै अवस्थामा प्रहरीले छुटेका बचतकर्तालाई कानुनी दायरामा ल्याउने उद्देश्यले पुनः जाहेरीको अवसर खोलेको हो। थप जानकारी तथा सम्पर्कका लागि प्रहरीले ९८५७६९०२०५, ९८५७६९००९२ र ९८५७६२०००३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
उल्लेखनीय छ, सहकारी अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका मेयर समेत हुन्। सहकारीमा समस्या देखिएपछि फरार भएका उनी हाल बागलुङ कारागारमा थुनामा रहेका छन्।

