तनहुँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्ट अस्पताल बनाइनेछ : स्वास्थ्य मन्त्री गौतम

Share:

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्ट श्वासप्रश्वास अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारेकी छन्। सोमबार उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री गौतमले सेवा प्रवाहको अवस्था, भौतिक पूर्वाधार र भावी विस्तार योजनाबारे जानकारी लिँदै अस्पताललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

निरीक्षणका क्रममा उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले हाल सञ्चालनमा रहेका सेवा, जनशक्ति अवस्था तथा आगामी योजनाबारे मन्त्रीलाई जानकारी गराए। अघिल्लो सरकारको कार्यकालमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारको सहयोगमा ३ सय शय्याको अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अघि बढाउनुपर्ने विषयमा उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए। केन्द्रले भौतिक संरचना विस्तार र आवश्यक जनशक्ति व्यवस्थापनका लागि थप बजेटको मागसमेत गरेको छ।

मन्त्रीसँगै निरीक्षणमा सहभागी स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वास रोग उपचारकै विशेष केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विशिष्टीकृत सेवा दिने उद्देश्यसहित विसं २०६७ मा स्थापना गर्ने निर्णय भएको यस केन्द्रमा हाल ५० शय्याको जनरल वार्ड सञ्चालनमा रहेको छ।

विसं २०७५ मा सोही स्थानमा रहेको सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। हाल केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ। पर्याप्त जग्गा, भौतिक पूर्वाधार र विस्तारको सम्भावना रहेकाले यसलाई दक्षिण एसियाकै नमुना श्वासप्रश्वास उपचार केन्द्र बनाउन सकिने चिकित्सकहरूको भनाइ छ।

निरीक्षणका क्रममा मन्त्री गौतमले केन्द्रका कर्मचारी तथा बिरामीहरूसँग समेत कुराकानी गर्दै अस्पतालको समग्र अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: