पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी-तुलसीप्रसाद पत्रकारिता पुरस्कार

Share:

पोखरा। पोखराका दुई अग्रज पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कारबाट बस्नेत २०८१ सालका लागि र तिमिल्सिना २०८२ सालका लागि पुरस्कृत भएका हुन्।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले एक कार्यक्रमका बीच दुवै पत्रकारलाई सम्मान गरे। कार्यक्रममा बोल्दै कुलपति तिवारीले पुरस्कारको राशि आर्थिक रूपमा ठूलो नदेखिए पनि यसको गरिमा र समाजमा पार्ने प्रभाव अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। यस्ता पुरस्कारले पत्रकारितामा निष्ठा, जिम्मेवारी र निरन्तरताको मूल्य स्थापित गर्ने उनले बताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कारदाता सुवर्ण कोइराला, पुरस्कृत पत्रकारद्वय बस्नेत र तिमिल्सिना, महासंघ कास्कीका सचिव भूपाल गुरुङ, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पत्रकारिता पुरस्कारको महत्व र योगदानबारे धारणा राखेका थिए।

नारायण कार्की संयोजक रहेको पुरस्कार छनोट समितिले सिफारिस गरेका नामलाई महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो। छनोट समितिका सदस्यहरूमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ रहेका थिए। पुरस्कारको राशि नगद २५ हजार १११ रुपैयाँ रहेको छ।

पुरस्कृत पत्रकार धन बस्नेत हाल खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन्। २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता यात्रा सुरु गरेका बस्नेतले नागरिक दैनिकमा समेत काम गरिसकेका छन्। यसअघि उनले सहारा खेलकुद पुरस्कार (२०६४) र जिल्ला खेलकुद विकास समिति कास्कीबाट उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन्।

त्यस्तै, अर्का पुरस्कृत पत्रकार सागरराज तिमिल्सिना हाल एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन्। २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज टेलिभिजन, सेतोपाटी, गनथन डटकम लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्। उनले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति कास्कीको खेलकुद अवार्ड तथा रेवान पोखराद्वारा प्रदान गरिएको पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: