
पोखरा। पोखरा महानगरपालिका-२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकी सहभागी थिए।
उनले विद्यार्थीहरूलाई आत्मविश्वास, लक्ष्यप्रति दृढता र विवेकपूर्ण मार्गनिर्देशनको महत्वबारे प्रेरणादायी मन्तव्य दिँदै अभिमुखीकरण कार्यक्रम केवल औपचारिक ज्ञानको ढोका नभई जीवन बुझ्ने, दृष्टि विस्तार गर्ने र बौद्धिक यात्राको सशक्त आरम्भ भएको उल्लेख गरे।
कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले उप-प्राध्यापकहरूका प्रेरणादायी विचार, अनुभवजन्य सन्देश र जीवनमुखी सुझावहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रालाई केवल डिग्रीसम्म सीमित नराखी सोच, दृष्टि र चरित्रको रूपान्तरणसँग जोड्न प्रेरित गरेको धारणा व्यक्त गरे।
क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नवप्रवेशी विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै कलेज परिवारको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरे।
उप–प्राध्यापक सुनिलदत्त बरालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्नातकोत्तर तहका ३७ जना नवागन्तुक विद्यार्थीहरूलाई औपचारिक रूपमा अभिमुखीकरण तथा स्वागत गरिएको थियो।
