माघ २२ गतेदेखि पोखरामा बिटी कप, उपाधि राशि २ लाख २ सय २२ रुपैयाँ

Share:

पोखरा । पोखरा महानगरपालिका-१ टुँडिखेलस्थित खेलमैदानमा नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन हुने भएको छ। बुद्धटोल युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताबारे शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगितामा ५० भन्दा बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको छ।

“नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप माघ २२ गतेदेखि सुरु हुँदैछ,” अध्यक्ष गुरुङले भने, “अहिले हामी प्रतियोगिताको तयारीलाई तीव्र पारेका छौं।” प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ तथा उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, विधागत पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्ट्स साइकल प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ८-८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए। सहभागी हुन इच्छुक टिमका लागि प्रति टिम १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

आयोजकका अनुसार बिटी क्लबले खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना समेत अघि सारेको छ। क्लब खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रूपमा क्रियाशील रहँदै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: