
पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति-१० ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सम्पर्क कार्यालयको उद्घाटन नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाट लेगरेका हुन् ।
उनका अनुसार सम्पर्क कार्यालय स्थापना सँगसँगै नेपाली कांग्रेसले वडा नम्बर-१० भित्र विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी सुझाव संकलन अभियान पनि सुरु गरेको छ।
यसक्रममा रामबजार जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेर जेष्ठ नागरिकसँग सुझाव लिइएको छ भने कृष्ण मन्दिर, गौरी मार्ग, हस्पिटल चोक, स्वर्णिम टोल, अन्नपूर्ण टोल, जनप्रिय टोल तथा नागिन टोलका बासिन्दासँग पनि प्रत्यक्ष छलफल गरिएको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार तिलकबहादुर रानाभाटले नागरिकबाट प्राप्त सुझाव नै आफ्नो मुख्य प्राथमिकता र भावी योजना बन्ने स्पष्ट पारे ।
“जनताले दिएका सुझावलाई व्यवहारमा उतार्दै विकास र समृद्धिको मार्गमा अघि बढ्नु नै मेरो प्रतिबद्धता हो,” उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका रानाभाटले देशलाई एक्काइसौँ शताब्दीको प्रतिस्पर्धामा उत्रन सक्ने बनाउने आवश्यकता औँल्याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाइने बताए ।
यसै क्रममा उम्मेदवार रानाभाट नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति-२६ द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए । सो अवसरमा उनले पार्टी संगठन सुदृढीकरण र जनताको विश्वास जित्दै चुनावमा अघि बढ्ने रणनीतिबारे धारणा राखे ।
