
पोखरा । पर्यटकीय राजधानी पोखरामा पछिल्ला केही दिनयता फोहर उठ्न नसक्दा सहर अस्तव्यस्त बनेको छ। सडकछेउ, चोकचोक र टोलटोलमा फोहर थुप्रिँदा सहर कुरूप देखिनुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको छ। समयमै फोहर व्यवस्थापन हुन नसक्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारणको असन्तुष्टि बढ्दै गएको छ।
पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र पूर्ण रूपमा भरिएपछि फोहर उठाउन समस्या आएको हो। महानगरका इन्जिनियर तथा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार वैकल्पिक स्थानको खोजी तीव्र रूपमा भइरहेको छ।
‘जेनजी आन्दोलनका क्रममा अत्यधिक फोहर उत्पादन भएपछि लामेआहालको ल्याण्डफिल साइट नै भरियो,’ उनले भने, ‘नयाँ ठाउँको खोजीमा हामी दिनरात लागिरहेका छौँ, आज पनि सम्भावित स्थल निरीक्षण गरेर फर्किएका छौँ।’ स्थान अभावकै कारण समयमै फोहर उठ्न नसकेको उनको भनाइ छ।
महानगरले केही दिनमै समस्या समाधान हुने आश्वासन दिँदै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ। ‘केही दिन घरमै फोहर संकलन गरेर राख्न अनुरोध गरेका छौँ,’ तिमिल्सिनाले भने, ‘फोहर व्यवस्थापन महानगरको मात्र होइन, हरेक नागरिकको पनि साझा दायित्व हो।’ स्थायी ल्याण्डफिल साइट निर्माणका लागि स्थानीयवासीको सहकार्य अपरिहार्य रहेको उनले बताए।
लामो समयसम्म फोहर नउठ्दा दुर्गन्ध फैलिन थालेपछि महानगरले केही दिनअघि सार्वजनिक स्थलमा खाडल खनेर फोहर पुरेको थियो। तर सडक मात्र होइन, घरघरमै फोहर थुप्रिँदा तत्काल वैकल्पिक र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको स्थानीयवासीको माग छ। दीर्घकालीन समाधान नखोजिए यो समस्या बारम्बार दोहोरिने देखिन्छ।
यसअघि पोखरा-१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटबाट फोहर व्यवस्थापन हुँदै आएको थियो। तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उक्त साइट बन्द गरियो। त्यसपछि लामेआहालमा अस्थायी ल्याण्डफिल साइट निर्माण गरी फोहर व्यवस्थापन हुँदै आएको हो।
महानगरका अनुसार हाल पोखरामा दैनिक १८० देखि २०० टनसम्म फोहर उत्पादन भइरहेको छ। फोहरलाई उद्यम र आम्दानीसँग जोड्ने उद्देश्यले परियोजना सञ्चालन गरिए पनि अनुत्पादक फोहरको व्यवस्थापन भने ठूलो चुनौती बनेको छ।
पोखरा महानगरपालिकाले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग को आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहकार्यमा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गर्दै आएको छ। परियोजनाको उद्देश्य प्रयोग गरेर फाल्ने ‘थ्रो अवे’ संस्कृतिको सट्टा चक्रीय अर्थतन्त्रमा आधारित रिसाइकलिङ र अपसाइकलिङ उद्यम स्थापना गरी हरित अर्थतन्त्र प्रवर्धन गर्नु हो।
ठोस फोहरबाट हुने प्रदूषण र वातावरणीय नकारात्मक प्रभाव न्यूनीकरणमा परियोजनाले योगदान पुर्याउने महानगरको विश्वास छ। तर स्थायी ल्याण्डफिल साइटको अभावले पोखराको फोहर व्यवस्थापन अझै पनि संकटग्रस्त अवस्थामा रहेको यथार्थलाई यो घटनाले पुनः उजागर गरेको छ।
