रश्मि आचार्यको उम्मेदवारीले पोखरा-९ का मतदाताको प्रतिक्रिया: ‘देश हाक्ने क्षमता भएको युवा नेतृत्व’

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. ९ का मतदाताले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रश्मि आचार्यको उम्मेदवारीलाई नेपाली राजनीतिमा समृद्धितर्फको महत्वपूर्ण छलाङका रूपमा लिएका छन्। उनीहरूले राष्ट्र विकास र नीति निर्माणमा प्रभावकारी नेतृत्व दिन सक्ने सक्षम र दूरदर्शी उम्मेदवार प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन्।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै आगामी दिनमा गर्नुपर्ने काम र प्राथमिकताका विषयमा सुझाव संकलन गर्ने क्रममा यस्तो प्रतिक्रिया आएको हो।

स्थानीय मतदाताहरूले आचार्यलाई देशलाई मार्गनिर्देशन गर्न सक्ने सम्भावना बोकेको युवा उम्मेदवारका रूपमा मूल्याङ्कन गर्दै आफूहरूको रोजाइमा पर्ने उल्लेख गरे। भेटघाटका क्रममा उनीहरूले वडामा आवश्यक पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य र विकासका विविध विषयमा सुझाव समेत दिएका थिए।

सो अवसरमा उम्मेदवार आचार्यले नीति निर्माण र जनताको दैनन्दिन समस्यासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरोकार राख्ने विषयहरू आफूले सधैं प्राथमिकतामा राख्ने बताए। आम श्रमजीवी जनताको पक्षमा बाल्यकालदेखि नै आवाज उठाउँदै आएको स्मरण गर्दै उनले जनमुखी विकास र समृद्धि नै आफ्नो एकमात्र लक्ष्य भएको स्पष्ट पारे।

“राजनीति पद र स्वार्थका लागि होइन, जनताको जीवनस्तर उकास्नका लागि हुनुपर्छ,” आचार्यले भने, “समृद्धि र अवसर सिर्जनाका लागि म निरन्तर जनताकै बीचमा रहनेछु।”

यसैबीच बुधबार पोखरा महानगरपालिका वडा नं. १६, ८ र ९ का निर्वाचन परिचालन कमिटीका कार्यालयहरू समेत औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। कार्यालय सञ्चालनसँगै चुनावी गतिविधि थप तीव्र बनाइने एमालेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: