आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

Share:

पोखरा । सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्दै आएको आहारारा गोल्ड कपको २५ औँ संस्करण अर्थात् रजत वर्षको अवसरमा विशेष फोटो प्रदर्शनी आयोजना हुने भएको छ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा तथा सहारा क्लब पोखराको सहयोगमा ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ शीर्षकको फोटो प्रदर्शनी शुक्रबारदेखि पोखरा महेन्द्रपुलस्थित फल्चामा सञ्चालन हुने भएको हो।

प्रदर्शनीमा आहारारा गोल्ड कपका विभिन्न संस्करणका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएका तस्वीरहरू प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमार्फत प्रतियोगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत आम दर्शकमाझ प्रस्तुत गरिनेछ।

मैदानभित्रका निर्णायक गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिर देखिने जीवन्त फुटबल संस्कृतिलाई तस्वीरमार्फत उजागर गरिनेछ। प्रदर्शनीमा ५० भन्दा बढी फोटोहरू राखिने आयोजकले जनाएको छ।

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले फोटो प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। रजत जयन्तीको अवसरलाई थप उत्सवमय बनाउन प्रदर्शनीमा सहयोग गरिएको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: