
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्। चुनावी अभियानका क्रममा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन-२ पुगेका लामिछानेले निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट गर्दै पुराना राजनीतिक दलहरूलाई चुनाव भाँड्ने षड्यन्त्र नगर्न सचेत गराएका हुन्।
भरतपुर-११ शान्तिटोलस्थित भाडामा लिएको नयाँ निवासमा गृहप्रवेशपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने,‘निर्वाचन छल्ने र भाँजो हाल्ने काम कसैले नगर्नुस्। अहिले पनि कसरी निर्वाचन रोक्ने भनेर भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ, हामी ती सबै इशारा बुझिरहेका छौँ। अब जनतालाई निर्णय गर्न दिनुपर्छ।’
लामिछानेले आफूलाई घेराबन्दीमा पारेर लोकतान्त्रिक विधिबाहिरबाट हराउने प्रयास भइरहेको आरोप समेत लगाए। ‘जो-जो मिल्न चाहन्छन्, मिल्नुस्। तर हामीलाई लोकतान्त्रिक प्रक्रियाबाटै हराउनुहोस्, षड्यन्त्र, झेली र छलछाम गरेर होइन,’ उनले भने, ‘चितवनले निलो क्रान्तिको बीउ रोपेको छ, अब यहीँबाट देशव्यापी परिवर्तनको लहर सुरु हुनेछ।’
चितवन आइपुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा पार्टी कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। त्यसपछि उनी भरतपुर-४ लंकुस्थित हरिकिर्तन लक्ष्मी मन्दिर पुगेर ‘स्वस्ति शान्ति’ पूजामा सहभागी भए। पूजामा चितवन-१ का रास्वपा उम्मेदवार हरि ढकाल र चितवन-३ की उम्मेदवार सोविता गौतमको पनि उपस्थिति रहेको थियो।
अदालती प्रक्रियाका कारण केही समय सार्वजनिक गतिविधिबाट टाढा रहेका लामिछानेले गत माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्तापछि उनी पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्। रास्वपा चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार लामिछाने केही दिन चितवनमै बसेर घरदैलो अभियान, मतदाता भेटघाट र चुनावी रणनीतिमा केन्द्रित हुनेछन्।
