
पोखरा । बगैँचा मन्टेश्वरी प्रि-स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट-२०८२ भव्य रूपमा सम्पन्न भएको छ। माघ १८ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिटमा २६ समूहमा विभाजन गरिएका ७९ जना बालबालिकाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
स्पोर्टस् मिट अन्तर्गत १० प्रकारका मनोरञ्जनात्मक तथा सीपमूलक खेलहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई पोखरा महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा वडा नं. १० का वडा सदस्य प्रशान्त न्यौपाने तथा बालविकास विज्ञ प्रभा भुजेललगायतले मेडल र प्रमाणपत्र प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै कार्यवाहक वडाध्यक्ष पौडेलले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। खेलकुदले शारीरिक तन्दुरुस्ती बढाउनुका साथै मांसपेशीको विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि र सक्रिय जीवनशैली निर्माणमा सहयोग पुर्याउने उनको भनाइ थियो।
वडा सदस्य न्यौपानेले खेलकुदमार्फत बालबालिकामा एकाग्रता, आत्मविश्वास, अनुशासन र निर्णय क्षमता विकास हुने बताउँदै सहकार्य, सहिष्णुता, नेतृत्व र मित्रता जस्ता सामाजिक सीपको विकासमा पनि खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गरे। खेलकुदले हार-जितलाई सहज रूपमा स्वीकार गर्न सिकाउने भएकाले भावनात्मक सन्तुलन कायम गर्न सहयोग पुग्ने उनले बताए।
बालविकास विज्ञ प्रभा भुजेलले साना बालबालिकाको सिकाइ र खेलकुद विकासमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्न, पढाइमा सहयोग तथा निगरानी गर्न र शिक्षकसँग निरन्तर समन्वय आवश्यक रहेको बताइन्। यसले बालबालिकालाई जिज्ञासु, आत्मविश्वासी र सक्षम बनाउने उनको भनाइ थियो।
मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले पढाइ र खेलकुदबीच सन्तुलन कायम गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताइन्। स्पोर्टस् मिटका क्रममा बालबालिकाले देखाएको अनुशासन, धैर्यता र आत्मविश्वास प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालयले पठनपाठनसँगै सामाजिकरण र दैनिक जीवनका आवश्यक सीपहरू विकासमा विशेष ध्यान दिँदै आएको जानकारी दिइन्।
स्पोर्टस् मिटमा बल कलेक्टिङ गेम, फ्रग जम्प, कलर म्याचिङ, स्वीट गेम, चियर एरेन्जिङ, रेडी फर स्कूल, बल ब्यालेन्सिङ, सेप गेम, हिट द टावर, सेक रेसलगायतका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका थिए। समापन समारोहमा बालबालिकाहरूले नृत्य तथा योग प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
