गण्डकीमा कांग्रेसको चुनावी होमवर्क तीव्र

Share:

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेस नेताहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गहन छलफल गरेका छन्। गण्डकी प्रदेशका ११ जिल्लाका १८ वटा निर्वाचन क्षेत्रको वर्तमान अवस्थाबारे केन्द्रित छलफल भएको हो।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई विजयी गराउने रणनीति तय गर्न सभापति थापाले उम्मेदवारको अवस्था, संगठनको भूमिका, कार्यकर्ताको सक्रियता र आवश्यक गृहकार्यबारे सूक्ष्म ढंगले छलफल गरेका नेताहरूले बताएका छन्।

कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार छलफलमा पार्टीबाट उठाइएका प्रतिनिधिसभा उम्मेदवारहरूको स्थिति, स्थानीय संगठनको सक्रियता, नेता-कार्यकर्ताको जिम्मेवारी तथा चुनावी रणनीतिबारे गम्भीर समीक्षा गरिएको थियो। साथै पार्टीभित्र देखिएका केही असन्तुष्टि र मतभेदलाई पनि छलफलमार्फत समाधान गरिएको उनले बताए।

छलफलपछि पार्टीका नेताहरूमा नयाँ ऊर्जा थपिएको र एकताबद्ध रूपमा चुनावी मैदानमा होमिने वातावरण बनेको सुवेदीको भनाइ छ। “अब गण्डकीमा कांग्रेस एक ढिक्का भएर चुनाव लड्छ,” उनले भने।

सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता तथा कार्यकर्तासँग जनकपुरमा यस्तै चुनावी छलफल गरिसकेका छन्। आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता-कार्यकर्तासँग निर्वाचन केन्द्रित छलफललाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: