
पोखरा । नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रश्मि आचार्यले सृजनशील युवालाई उत्पादनसँग जोड्दै मर्यादित रोजगारीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घर-घरमा पुगेर युवाका समस्या, सम्भावना र सीप पहिचान गर्दै उत्पादनमुखी कार्यक्रममा जोड्ने अभियानलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
पोखरामा आयोजित नेकपा (एमाले) कास्की क्षेत्र नं.२ को बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले योजनाबद्ध र दिगो विकासका लागि जनताको कर जनतामै फर्किने कार्यक्रम अघि बढाइने उल्लेख गरे। प्रभावकारी नीति निर्माण र त्यसको कार्यान्वयनमार्फत युवा, महिला तथा पछाडि पारिएका वर्गको सशक्तीकरणमा आफू दृढतापूर्वक अघि बढ्ने उनले बताए।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले राष्ट्र, राष्ट्रियता र देशको सुरक्षाको जिम्मेवारी एमालेको नेतृत्वमा मात्र सुरक्षित हुन सक्ने दाबी गरे। उनले देश विकासका स्पष्ट रणनीतिक एजेन्डा र योजनाहरू एमालेसँग रहेको उल्लेख गर्दै भ्रम र भ्रामक प्रचारको डटेर प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे।
एमालेका अग्रज नेता तथा कोशी प्रदेशका पूर्वप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले आगामी निर्वाचनको रणनीति र पार्टीको भूमिकाबारे आ-आफ्ना धारणा राखेका थिए। एमाले कास्की क्षेत्र नं. २ का संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बलराम आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव झपट रानाभाटले गरेका थिए ।


