विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल

Share:

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो। यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन्।

नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो। नेपाल विश्वकपमा समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

इंग्ल्यान्डसँग कस्तो देखिएला नेपाल ?

दुई वाम अप खेलमा यूएई र क्यानडासँग नेपालले सम्झनायोग्य ब्याटिङ गरेको छ। यूएईविरुद्ध चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरे। आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रनको शानदार इनिङ खेल्दा दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५० रन बनाउँदा नटआउट रहे। उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो। यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा मात्र तीन विकेट गुमाएर भेट्टाएको थियो।

दोस्रो वाम अप खेलमा क्यानडामाथि नेपालले ६ विकेटको जित हात पार्दा ओपनर आशिफ शेखले शानदार अर्धशतक बनाए। १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी हुँदै चार विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि शेखले ५८ रन बनाउँदा सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रन थपे। यो ब्याटिङ शक्ति नेपालले आज इंग्ल्यान्डसामू प्रस्तुत गर्नुपर्ने छ।

विश्वकपमा नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

विश्वकपका नेपालको पहिलो चुनौती इंग्ल्यान्ड ?

यो विश्वकपमा उपाधिका लागि २० राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन्। सहभागी राष्ट्रलाई चारवटा समूहमा विभाजन गर्दा एक समूहमा पाँच टोली समावेश छन्। प्रत्येक समूहका दुई शीर्ष टोली सुपर आठ चरणमा पुग्नेछन्। नेपाल समूह ‘सी’मा छ। यो समूहलाई सबैभन्दा कठिन मानिएको छ। इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई-दुईपटक विश्वकपको उपाधि उचालिसकेका छन्। नेपालले एसोसिएट राष्ट्र स्कटल्यान्ड र इटालीविरुद्ध खेल्नेछ।

नेपालको टी-२० आई इतिहासमा इंग्ल्यान्ड र इटाली नयाँ प्रतिद्वन्द्वी हुन्। नेपालले वेस्ट इन्डिजविरुद्ध गत असोजमा युएईमा टी-२० आई सिरिज खेलिसकेको छ तर इंग्ल्यान्डसँग प्रतिस्पर्धा गरेको छैन।

विश्व विजेता इंग्ल्यान्ड कस्तो टिम हो ?

इंग्ल्यान्ड विश्व क्रिकेटकै पुरानो टोली हो। क्रिकेटको टी-२० फर्म्याटको सुरुवात नै इंग्ल्यान्डबाट भएको हो। त्यहाँको काउन्टी क्रिकेट विश्वमा प्रसिद्ध छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अगाडि काउन्टी क्रिकेटको चर्चा हुन्थ्यो। अहिले पनि काउन्टी क्रिकेट प्रतिष्ठित फ्रेन्चाइज लिगमै पर्छ।

क्रिकेटको टी-२० मा इंग्ल्यान्डको प्रदर्शन प्रशंसा योग्य छ। नेपालको प्रतिद्वन्द्वी इंग्ल्यान्डले आइसिसी टी-२० विश्वकप दुईपटक जितेको छ। सन् २०१० मा इंग्ल्यान्डले पहिलोपटक टी-२० विश्वकप जितेको हो। पाउल कालिउडको कप्तानीमा इंग्ल्यान्डले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो।

इंग्ल्यान्डले दोस्रोपटक सन् २०२२ मा उपाधि उचालेको हो। इंग्ल्यान्डले फाइनलमा पाकिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो। इंग्ल्यान्डलाई दोस्रोपटक विश्वकप च्याम्पियन बनाउन जोस बटलरले कप्तानी गरेका थिए। इंग्ल्यान्ड अब तीनपटक उपाधि जित्ने अभियानमा छ। अहिले इंग्ल्यान्डको कप्तानी युवा खेलाडी ह्यारी ब्रुकले गरिरहेका छन्।

इंग्ल्यान्डको विश्वकप टोलीमा पूर्वकप्तान जोस बटलर, फिल साल्ट, बेन डकेट र विल ज्याक्सजस्ता खेलाडी छन्। फास्ट बलर जोफ्रा आर्चर उत्कृष्ट फर्ममा छन्। स्पिन बलिङमा इंग्ल्यान्ड आदिल राशिद छन्। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी-२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ।

कमेन्ट गर्नुहोस्
Share: