लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयकर र भ्याटसम्बन्धी व्यवसायी लक्षित तालिम सम्पन्न

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ। तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिमबाट प्राप्त ज्ञान व्यवसायीका लागि जीवनभर उपयोगी हुने उल्लेख गर्दै स्वाभिमानी र सफल व्यवसायिक जीवनका लागि करसम्बन्धी ज्ञान अपरिहार्य रहेको बताए।

उनले कर तिर्नु हरेक नागरिकको कर्तव्य भएको स्मरण गराउँदै जानाजानी कर छल्ने कार्यले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै व्यवसायीहरूलाई सजग गराए। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आबद्ध व्यवसायीहरूलाई अझ सफल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्।

कर गणना, कर विवरण भर्ने प्रक्रिया, कर चुक्ता प्रमाणपत्र लिने, आय विवरण बुझाउने, करसम्बन्धी झन्झट, मिसम्याच तथा नन-फाइलरजस्ता समस्याहरूको समाधानमा तालिम उपयोगी हुने उनले स्पष्ट पारिन्। उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता र करप्रतिको सकारात्मक सोचसँग जोडिएको उल्लेख गर्दै तालिमले त्यसतर्फ योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

तालिम व्यवस्थापन उप-समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले व्यवहारमा भोग्दै आएका समस्याको समाधानका लागि तालिम आयोजना गरिएको बताए। कर डराउनुपर्ने होइन, जान्नुपर्ने विषय भएको उल्लेख गर्दै उद्यमी व्यवसायीहरूलाई करसम्बन्धी न्यूनतम नियम र दायित्वप्रति सचेत गराउन तालिम महत्वपूर्ण हुने उनको भनाइ थियो।

संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले करलाई प्राथमिकता नदिँदा व्यवसायीले विभिन्न झन्झट र समस्याहरू भोग्नुपरेको उल्लेख गरे। राज्यका ऐन, कानुन तथा कर नीतिको जानकारी नभएको बहानामा उन्मुक्ति नपाइने भएकाले प्रत्येक आर्थिक वर्षसँगै परिवर्तन हुने कर नीतिबारे व्यवसायीले आफूलाई अद्यावधिक राख्नुपर्ने उनले बताए।

७० भन्दा बढी उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको तालिममा विवेक एण्ड एसोसिएट्सका सञ्चालक चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले सहजीकरण गरेका थिए। संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: