म्याद गुज्रेको सामग्री प्रयोग गर्ने काठमाडौं बेकरीलाई २० हजार जरिवाना, २५ जना बिरामीमध्ये एकको अवस्था गम्भीर

Share:

पोखरा । पोखरा महानगरपालिका-९ महेन्द्रपुलस्थित काठमाडौं बेकरीलाई म्याद गुज्रेका तथा लेबलविहीन खाद्य सामग्री प्रयोग गरेको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले २० हजार रुपैयाँ जरिवाना गरेको छ। जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा बैंकमार्फत दाखिला भइसकेको प्रशासनले जनाएको छ।

माघ २४ गते साँझ उक्त बेकरीबाट केक खाएका २५ जना उपभोक्ता बिरामी परेपछि प्रशासनले अनुगमन थालेको थियो। जन्मदिन कार्यक्रममा प्रयोग गरिएको केक खाएपछि एकै परिवारका २५ जना बिरामी परेका थिए। उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ। अधिकांशमा वान्ता, पखाला र पेट दुख्ने समस्या देखिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल र शिव लम्सालको नेतृत्वमा मंगलबार साँझ गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजन श्रेष्ठ, खाद्य अधिकृत दीपक कुँवर र अशोक गौतम सहभागी थिए। टोलीले बिक्री कक्ष, उत्पादन कक्ष र भण्डारण स्थल निरीक्षण गर्दा म्याद गुज्रेका कच्चा पदार्थ फेला पारेको थियो।

अनुगमनका क्रममा ५ सय ग्रामका मिक्स फ्रुट तथा विभिन्न फ्लेभर, ५ सय ग्राम नर्मदा कलर (अखाद्य रङ), ५ केजी कोको पाउडर, बेकिङ पाउडर लगायतका सामग्री म्याद गुज्रेको अवस्थामा भेटिएको थियो। साथै, लेबलिङ, ब्याच नम्बर, उत्पादन मिति र प्रयोग योग्य मिति उल्लेख नभएका सामग्रीहरू पनि फेला परेका थिए।

उत्पादन कक्षमा सरसफाइ कमजोर रहेको, मापदण्डविपरीत कालो प्लास्टिक प्रयोग गरिएको तथा अखाद्य रङ मिसाइएको समेत भेटिएको थियो। पसलमा मूल्य सूची नराखिएको, खरिद-बिक्रीका बिल वा विजक उपलब्ध गराउन नसकिएकोसमेत पाइएको थियो।

टोलीले अनुगमनकै क्रममा म्याद गुज्रेका तथा विवरण नखुलेका खाद्यान्न सामग्री नियन्त्रणमा लिई तत्काल नष्ट गरेको थियो। मंगलबार सञ्चालक रोशन महर्जनले केही म्याद गुज्रेका सामग्री भेटिएको स्वीकार गर्दै आगामी दिनमा सचेत रहने प्रतिबद्धता जनाएका थिए। तर, बुधबार जिल्ला प्रशासन कार्यालयको इजलासले उनलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले खाद्य तथा अखाद्य सामग्री प्रयोग गरी उत्पादन तथा बिक्री वितरण गर्ने जो-कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: