
पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर १८ अन्तर्गत सेदी र रातोमाटो डाँडामा अनुमतिविना निर्माण गरिएका संरचना भत्काएको छ। महानगरको कार्यालयबाट स्वीकृति नलिई अवैध रूपमा निर्माण कार्य अघि बढाइएपछि नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरी संरचना हटाइएको हो।
महानगरले पटक-पटक निर्माण कार्य रोक्न निर्देशन दिँदा पनि अटेर गरिएपछि कडा कदम चालिएको जनाएको छ। यसअघि नगर प्रहरी टोलीले निर्माणस्थलमा पुगेर काम रोक्का राख्नुका साथै निर्माण सामग्री नियन्त्रणमा लिएको थियो।
तर, निर्माण पक्षले निर्देशन बेवास्ता गर्दै रातिको समय र सार्वजनिक बिदामा समेत लुकीछिपी काम जारी राखेपछि फागुन ४ गते संयुक्त सुरक्षा टोली परिचालन गरी संरचना पूर्ण रूपमा भत्काइएको महानगरले जनाएको छ।
महानगरले अवैध निर्माण कार्यलाई निरुत्साहित गर्न यस्तो कदम चालेको स्पष्ट पारेको छ। साथै, महानगर क्षेत्रभित्र कुनै पनिअस्थायी वा स्थायी संरचना निर्माण गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन नगरवासीलाई आग्रह गरेको छ।
सूचनामा चेतावनी दिँदै भनिएको छ, अनुमति बिना निर्माण गरे प्रचलित कानुनअनुसार कारबाहीको भागी हुनुपर्नेछ।’
महानगरले नियम पालना गर्दै विकास निर्माणका काममा सहयोग गर्न सबैसँग अपिल गरेको छ।
