पोखरामा रश्मि आचार्यको २१ बुँदे महायोजना सार्वजनिक : पोखरालाई पर्यटनदेखि कृषि र पूर्वाधारसम्म समृद्धिको रोडम्याप

Share:

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रश्मि आचार्यले महत्वाकांक्षी २१ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई स्थानीय तहमा कार्यान्वयन गर्ने स्पष्ट योजनासहित उनले पोखराको चौतर्फी विकासको खाका अघि सारेका हुन्।

आचार्यले पर्यटकीय राजधानी घोषित पोखरामा पर्यटक संख्या दोब्बर पुर्‍याउने लक्ष्यसहित उपत्यका वरपरका अर्मलाकोट, ढीकीडाँडा, काहुँ धरहरा, मौजा, भलाम, निर्मलपोखरी, कृस्ती र भरतपोखरी क्षेत्रमा हाइकिङ पदमार्ग, भ्यू-प्वाइन्ट तथा सूर्योदय-सूर्यास्त अवलोकन केन्द्र निर्माण गर्ने योजना प्रस्तुत गरेका छन्।

पातालेछाँगो, गुप्तेश्वर, महेन्द्र र चमेरे गुफालाई समेटेर विस्तृत गुरुयोजना बनाई सौन्दर्यकरण गरिने उनले बताए। साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कूटनीतिक पहललाई विशेष प्राथमिकतामा राखिने उल्लेख गरेका छन्।

पोखरालाई बाह्य सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्न आवश्यक स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने, पोखरा-भिमाद-कावासोती फास्ट ट्रयाक निर्माणलाई तीव्रता दिइने तथा बसपार्कलाई सूचना-प्रविधिमैत्री सिटी बसपार्कका रूपमा विकास गरिने योजना सार्वजनिक गरिएको छ।

ग्रामीण क्षेत्रलाई लक्षित गर्दै अर्मला, मौजा, काहुँ र भरतपोखरीलाई तरकारी तथा फलफूलको ‘पकेट जोन’ घोषणा गरिने भएको छ। उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन, पशुधन बीमा, बाँदर नियन्त्रण नीति र प्रादेशिक स्तरको दुग्ध प्रशोधन केन्द्र तथा शीत भण्डार स्थापना गरी स्थानीय उत्पादनलाई पर्यटन बजारसँग जोड्ने योजना आचार्यले अघि सारेका छन्।

सरकारी तथा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने, गण्डकी विश्वविद्यालयमा प्राविधिक विषयका नयाँ कार्यक्रम सञ्चालन गर्ने तथा वन विज्ञान क्याम्पस पोखरालाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

स्वास्थ्यतर्फ पोखरा-१६ स्थित मातृशिशु अस्पताल र पोखरा-१७ को हिमालय आँखा अस्पतालको स्तरोन्नति तथा सर्वसुलभ विशिष्टीकृत अस्पताल स्थापनाका लागि पहल गरिने उनले बताए।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या संविधान प्रदत्त आवास अधिकारअनुसार दीर्घकालीन रूपमा समाधान गर्ने, सामाजिक सुरक्षा भत्ताको निरन्तरता र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादलाई सुदृढ बनाउन प्रत्येक ६ महिनामा वडास्तरसम्म नियमित छलफल गर्ने नयाँ शैलीको अभ्यास सुरु गर्ने उनले घोषणा गरेका छन्। यसले पारदर्शिता र जनसहभागिता बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आचार्यले एमाले नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सडक विस्तार र स्वास्थ्य पूर्वाधार स्तरोन्नति भएको स्मरण गराउँदै अब त्यसैको जगमा आधुनिक र समृद्ध पोखरा निर्माण गर्ने समय आएको बताए।

‘राजनीतिक स्थिरता र सुशासनका लागि सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले भने।

कमेन्ट गर्नुहोस्
Share: