
पोखरा। छोराको १९औँ जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै पोखराका चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङ दम्पतीले दुई सामाजिक संस्थालाई नगद तथा खाद्यान्न सहयोग गरेका छन्।
अष्ट्रेलियामा अध्ययनरत सचित गुरुङको जन्मदिनको अवसर पारेर दम्पतीले छोरेपाटनस्थित मानव सेवा आश्रमलाई २५ हजार ५ सय रुपैयाँ नगद तथा बेलुकाको खानासहित खाद्यान्न सहयोग प्रदान गरेका हुन्। साथै सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा आश्रित बालकहरूका लागि पनि बेलुकाको खाना र खाद्यान्न सहयोग गरिएको छ।
मानव सेवा आश्रममा आयोजित कार्यक्रममा बोल्दै चन्द्रबहादुर गुरुङ भावुक बने। “आश्रममा रहेका आमा र दिदीबहिनीहरूलाई देख्दा मन भरिन्छ। मेरो पनि आमा हुनुहुन्न। यहाँ आएर सहयोग गर्न पाउँदा खुसी लागेको छ,” उनले भने।
छोराको जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा असहाय र विपन्नलाई सहयोग पुगोस भन्ने उद्देश्यले यो निर्णय लिएको उनले बताए। कार्यक्रममा उपस्थित पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सचितलाई जन्मदिनको शुभकामना दिँदै दम्पतीको सहयोगी भावनाको प्रशंसा गरिन्।
“समाजमा धन हुने धेरै छन्, तर मन हुने कमै हुन्छन्। चन्द्र दाइहरूजस्ता मन भएका व्यक्तिका कारण नै आश्रम सञ्चालन सम्भव भएको छ,” उनले भनिन्।
चन्द्रबहादुर गुरुङले विगतदेखि नै सहारा क्लबमार्फत सामाजिक कार्यमा साथ दिँदै आएका छन्। सहारा एकेडेमीमा उनले आफ्नी पत्नी र दाजुभाइहरूसँग मिलेर एउटा कोठा निर्माणसमेत गरेका छन्। एकेडेमीमा रहेका बालबालिकाको शिक्षा र पालनपोषणमा सहयोग पुगोस भन्ने उद्देश्यले यसपटक पनि जन्मदिनको अवसरमा सहयोग गरिएको उनले बताए।
हाल १९ वर्षमा प्रवेश गरेका सचित गुरुङ अष्ट्रेलियामा सिभिल इन्जिनियरिङ अध्ययनरत छन्। बुबा चन्द्रबहादुर नेपाल आएको अवसर पारेर पोखरास्थित दुई संस्थालाई सहयोग गरिएको हो। कार्यक्रममा परिवारका सदस्यहरू समेत सहभागी थिए।छोराको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यो परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ।


