
पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत भएको बताएका छन्। ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सन्देशमा प्रदेश प्रमुख भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नागरिक अधिकार सुनिश्चितता र लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, प्रजातन्त्र स्थापनाका आन्दोलनलाई नेतृत्व गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन्।
‘७ दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मुख्य जग विसं २००७ सालको क्रान्ति थियो भन्ने हामीले स्मरण गर्नुपर्छ,’ सन्देशमा भनिएको छ, ‘जनता नै राज्यशक्तिको स्रोत हुन् भन्ने मान्यतामा रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके प्रजातन्त्र दिवस सार्थक हुनेछ।’
उनले यो दिवसले राजनीतिक दल र राज्यका अंगलाई लोकतान्त्रिक मूल्य मान्यता आत्मसात् गर्दै जनअपेक्षा पूरा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना उनले गरेका छन्।
