
पोखरा । प्रजातन्त्र दिवसको अवसरमा पोखरा-४ स्थित बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले एशोसियसनको लोगो अंकित झण्डा तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी दिवसलाई विशेष रूपमा मनाएको छ। बजार परिसरमा आयोजित कार्यक्रममा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एशोसियसनका मानार्थ सदस्य, सल्लाहकार तथा पूर्व अध्यक्ष केशव बहादुर खत्रीले फागुन ७ नेपाली जनताको लागि ऐतिहासिक र गौरवपूर्ण दिन भएको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा नै यस दिवसलाई वार्षिक रूपमा मनाउने निर्णय गरिएको बताए। उनले वर्तमान आर्थिक मन्दीका कारण व्यवसाय टिकाइराख्नु नै व्यवसायीहरूको मुख्य चुनौती बनेको धारणा राखे।
खत्रीले एशोसियसनभित्र फुट ल्याउने प्रयास गर्ने तत्वहरू सक्रिय हुन थालेको उल्लेख गर्दै त्यस्ता ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिका व्यक्तिहरूलाई समयमै चिनेर सचेत रहन व्यवसायीहरूलाई आग्रह गरे। “व्यवसायीको माया नभएका व्यक्तिहरूबाट सचेत रहनुपर्छ,” उनले जोड दिए।
एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले प्रजातन्त्र दिवस बजारका व्यवसायीका लागि ऐतिहासिक दिन भएको भन्दै एशोसियसनको लोगो अंकित झण्डासहित राष्ट्रिय झण्डा फहराइएको बताए। उनले नेपाली झण्डाको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पारे।
अध्यक्ष कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोहरि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
उक्त अवसरमा कार्यसमिति सदस्य ईन्द्रमाया गुरुङले आफ्ना स्वर्गीय ससुरा बुवा शेर बहादुर गुरूङको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषका लागि ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिन्। उनले प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सहयोग प्रदान गर्दै आएकी छन्।
झण्डोत्तोलन कार्यक्रममा बजारका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय भावना, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्वको सन्देश एकसाथ प्रवाह भएको सहभागीहरूले बताएका छन्।
