निर्वाचनको तयारी तीव्र, गण्डकीको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

Share:

पोखरा । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री सुशीला कार्की ले गण्डकी प्रदेशको सुरक्षा तयारीबारे उच्चस्तरीय जानकारी लिएकी छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय सुरक्षा संयन्त्र, निर्वाचन तयारी र समन्वयका विषयमा प्रधानमन्त्री कार्कीलाई विस्तृत ब्रिफिङ गरिएको हो।

प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल तथा प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा अवस्था, संवेदनशील क्षेत्रको पहिचान, मतदान केन्द्रको व्यवस्थापन र शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने रणनीतिबारे जानकारी गराएका थिए।

प्रदेश प्रमुख सचिव घिमिरेका अनुसार गण्डकी प्रदेशमा सुरक्षा संयन्त्रसहितको ‘निर्वाचन सेल’ सक्रिय छ, जसले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिको निगरानी र समन्वय गरिरहेको छ। “उहाँलाई हालसम्म भएका तयारीबारे जानकारी गराइनुका साथै आवश्यक निर्देशन पनि प्राप्त गरिएको छ,” उनले भने।

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी हुन पोखरा आएकी हुन्। सोही अवसर पारेर निर्वाचन सुरक्षाको अवस्था प्रत्यक्ष बुझ्नुले सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएको सन्देश दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: