विश्व बैंक टोलीद्वारा पोखरा महानगरपालिकाका तीन सडक परियोजनाको स्थलगत अनुगमन

Share:

पोखरा । विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित तीन महत्वपूर्ण सडक स्तरोन्नति परियोजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनपछि विश्व बैंक र परियोजना समन्वय इकाइ (पीसीओ) टोलीबीच प्रगति, निर्माण अवस्था र देखिएका स्थानीय समस्याबारे विस्तृत छलफल गरिएको छ।

अनुगमन गरिएको परियोजनाअन्तर्गत तालचोक-बेगनास सडक स्तरोन्नति कार्य अधिकांश अन्तिम चरणमा पुगेको पाइएको छ। त्यसैगरी शिशुवा-शिसाघाट सडक स्तरोन्नति अन्तर्गत खुदीखोलासम्मको सडक निर्माण सम्पन्न भइसकेको जानकारी दिइएको छ।

लामो दूरी समेट्ने दोबिल्ला-बाघमारा-तिक्लाङ-बडहरकोट-लामगाडी-चापलाङ–उपल्लो पुडिँटार-तल्लो पुँडीटार-झिगटे-तगारेगौडा-तल्लोगगनगौडा सडक स्तरोन्नति परियोजनाको प्रगति सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ।

सो अवसरमा नगर प्रमुख धनराज आचार्यले तीनवटै परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न स्थानीय समस्या समाधान गर्दै निर्माण कार्यमा आवश्यक सहजीकरण गरिएको बताए। उनले गुणस्तरीय पूर्वाधार निर्माणमार्फत महानगरको यातायात सुविधा सुधार र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैंकका प्रतिनिधि रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पीसीओका विनोद पन्त, परियोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतम, इन्जिनियर नेत्र तिमिल्सीना लगायत प्राविधिक टोलीको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: