
पोखरा । नेपाली कांग्रेसले फागुन १५ गते शुक्रबार अमरसिंह चौरमा बृहद् चुनावी सभा आयोजना गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले पोखरामा शक्ति प्रदर्शनको तयारी तीव्र पारेको हो।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारीलाई व्यवस्थित बनाउन चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
सभालाई पार्टीका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित व्यवस्थापन समितिमा माया बराल क्षेत्री, दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ सदस्य रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ।
क्षेत्र नं-१ मा तिलक रानाभाट, क्षेत्र नं-२ मा माधवप्रसाद बास्तोला ‘मधु’ र क्षेत्र नं-३ मा मनोज गुरुङ उम्मेदवार छन् भने समानुपातिकतर्फ आईबहादुर गुरुङ उम्मेदवार रहेका छन्।
कांग्रेसले पोखराको चुनावी सभालाई उत्साहजनक र ऐतिहासिक बनाउने तयारी गरेको जनाएको छ।
