तनहुँ-१ मा‘विद्या सर’को उदय: हेभिवेटबीच विद्यानाथ ढकालको कडा चुनौती

Share:

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नम्बर-१ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय राजनीतिका चर्चित अनुहारबीच यसपटक स्थानीयस्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक छविका उम्मेदवार विद्यानाथ ढकालको उपस्थिति चुनावी समीकरण बदल्ने संकेतका रूपमा हेरिन थालेको छ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर मैदानमा उत्रिएका ढकालले स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र भगवती न्यौपानेजस्ता हेभिवेट उम्मेदवारलाई कडा चुनौती दिइरहेका छन्। विशेषगरी रास्वपाका स्वर्णिम वाग्लेको उम्मेदवारीले बढी चर्चा पाएको क्षेत्रमा ढकालको चुपचाप बढ्दो जनसमर्थनले नयाँ बहस जन्माएको छ।

करिब तीन दशक शिक्षण पेशामा बिताएका ढकाल स्थानीयस्तरमा ‘विद्या सर’का नामले परिचित छन्। ६० वर्ष नाघिसक्दा पनि युवा जोश र परिपक्व व्यवहार उनको पहिचान बनेको छ। भानु नगरपालिका-४ चुँदीका स्थायी बासिन्दा ढकाल सहरको विलासी जीवन त्यागेर आज पनि पुर्ख्यौली घरमै बस्दै आएका छन्।

मतदातासँग भेटघाटका क्रममा उनी भन्छन्, “म यहीँको माटो र जनतासँग भिजेको मान्छे हुँ। गाउँ आउँदा कति पटक आएँ भनेर प्रमाण दिनु पर्दैन।”

ढकाल केवल राजनीतिकर्मी मात्र नभई विकास अवधारणाका योजनाकारसमेत हुन्। मादी-मस्र्याङ्दी मोटरमार्गको अवधारणा ल्याउने प्रमुख सुत्राधारका रूपमा उनको नाम लिइन्छ। दमौली-कलेस्ती हुँदै बाइसजाँगर जोड्ने रणनीतिक सडक योजना उनले अगाडि सारेका थिए।

पर्यटन र वातावरण संरक्षणमा पनि उनको सक्रियता उल्लेखनीय छ। छिम्केश्वरी क्षेत्रमा राष्ट्रिय निकुञ्ज निर्माण, मिर्लुबकोटमा खुला चिडियाखाना स्थापना तथा तनहुँसुरको ऐतिहासिकता जोगाउने अभियानमा उनी वर्षौंदेखि पैरवी गर्दै आएका छन्।

वृहत मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार समितिको संयोजकका रूपमा जलाधार संरक्षण र प्राकृतिक स्रोतको सदुपयोगमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

५० वर्ष लामो राजनीतिक यात्रामा पटक-पटक जेल र हिरासत भोगेका ढकाल हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। ‘आमा’ लघुकथा संग्रहका लेखकका रूपमा प्रगतिशील साहित्यकारको पहिचान पनि बनाएका उनले सुशासन र सभ्य समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

उनको पारिवारिक जीवनशैली पनि चर्चामा छ। सन्तानलाई विदेश पलायन हुन नदिई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने उनको अभ्यासलाई मतदाताले सकारात्मक रूपमा लिएका छन्।

स्थानीय मतदाताको भनाइ छ, “ठूला दलका हेभिवेट नेताले आश्वासन मात्र दिए, तर हाम्रो दुःख-सुखमा साथ दिने र भूगोल बुझ्ने त विद्या सर नै हुन्।”

चुनावी मैदानमा चुपचाप मत बटुल्दै अघि बढिरहेका विद्यानाथ ढकालको उपस्थितिले यसपटक तनहुँ–१ को नतिजा अप्रत्याशित बन्न सक्ने आकलन राजनीतिक वृत्तमा हुन थालेको छ।

कमेन्ट गर्नुहोस्
Share: