
पोखरा । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीको दिगो विकास र समृद्धिका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन्।
मन्त्री थापाले कास्कीबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ तथा समानुपातिकतर्फका उम्मेदवार आई बहादुर गुरुङका पक्षमा मत माग्दै काँग्रेस सक्षम र अनुभवी नेतृत्वसहित चुनावी मैदानमा उत्रिएको बताए।
उनका अनुसार प्रदेश सरकारले कास्कीका विभिन्न वडामा विद्यालय पूर्वाधार सुदृढीकरण, खेलमैदान स्तरोन्नति, स्वास्थ्य संस्थामा सेवा विस्तार तथा युवालाई लक्षित सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ। ती योजनालाई संघीय सरकारसँग प्रभावकारी समन्वय गरी अझ व्यापक रूपमा कार्यान्वयन गर्न सक्षम प्रतिनिधि आवश्यक रहेको उनले उल्लेख गरे।
“कास्कीको समुन्नत भविष्यका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण र विकासप्रति इमान्दार प्रतिबद्धता अपरिहार्य छ,” मन्त्री थापाले भने, “कास्की-२ लाई व्यवस्थित, अवसरमूलक र समृद्ध क्षेत्र बनाउन कांग्रेस नेतृत्व नै अपरिहार्य छ।”
उनले प्रदेश र संघबीच सहकार्यलाई थप मजबुत बनाउँदै विकास अभियानलाई निरन्तरता दिन मतदातासँग आग्रह गरे।यतिबेला कास्कीमा चुनावी माहोल तातेको छ। घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत कांग्रेस उम्मेदवारहरूले विकास, सुशासन र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। मन्त्री थापाको सक्रिय समर्थनसँगै कांग्रेसको अभियान झनै सशक्त बनेको कार्यकर्ताहरूले बताएका छन्।
